२०, जेष्ठ २०८२ मगंलवार
इरफान अलि (अरसद)
काठमाडौं – सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको अगुवाइमा सुरु गरिएको चरणबद्ध आन्दोलन हाल देशव्यापी रुपमा जारी रहेको समितिले स्पष्ट पारेको छ। समितिका अध्यक्ष विजय बहादुर स्वारद्वारा जारी विज्ञप्तिमा संघीय सरकारसँग संवाद जारी रहेको जनाउँदै आन्दोलन कुनै पनि हालतमा स्थगित नभएको उल्लेख गरिएको छ।
मिती २०८२ जेठ १९ देखि सार्वजनिक सवारी साधन ग्यारेजमै थन्क्याएर आन्दोलनमा उत्रिएका यातायात व्यवसायी, स्वरोजगार, र मजदुरहरुले संचारमाध्यममार्फत भ्रम सिर्जना गरिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्।
“हामीले जारी गरेको आन्दोलन अझै पनि निरन्तर छ। भ्रममा नपरी आन्दोलनलाई सशक्तरूपमा अगाडि बढाउन सबैमा अनुरोध गर्दछौं,” विज्ञप्तीमा उल्लेख छ।
संघीय सरकारसँगको सहमति अनुसार गण्डकी प्रदेश सरकारले कार्यान्वयन नगरे आन्दोलनलाई झनै सशक्त रूपमा अघि बढाउने चेतावनीसमेत समितिले दिएको छ। आगामी आन्दोलनका कार्यक्रम र सरकारसँग भएका सहमति तथा सम्झौताहरू संयुक्त पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने समितिको भनाइ छ।