राजनीति

राजसंस्था संवैधानिक हुन सक्दैन: गगन थापाको कडा धारणा

२०, जेष्ठ २०८२ मगंलवार 

बाँके,

नेपालगन्ज, — नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेपालको इतिहासले राजतन्त्र कहिल्यै संवैधानिक बन्न नसकेको स्पष्ट पारेका छन्। नेपालगन्जमा आयोजित नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ को तेस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा “प्रजातन्त्र कि राजतन्त्र” भन्ने दुई मात्र विकल्प रहेको उल्लेख गरे।

महामन्त्री थापाले भने, “राजसंस्था कहिल्यै पनि संवैधानिक बन्न नसक्ने हाम्रो कडुवा यथार्थ हो। युवापुस्तालाई यो बुझाउनु आजको आवश्यकता हो।”

उनले नेपाली कांग्रेसलाई राष्ट्रिय संकटका बेला जिम्मेवारी निभाउने प्रमुख शक्ति भएको स्मरण गराउँदै, अहिलेको उकुसमुकुसको अवस्था हटाउन कांग्रेस अग्रसर हुने दृढता व्यक्त गरे। “उत्तेजना फैलाउने प्रयास भइरहे पनि कांग्रेसले संविधान र लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्दै अघि बढ्नेछ,” थापाको भनाइ थियो।

पार्टी एकतामा बल दिँदै उनले नेतादेखि कार्यकर्ता सबैको हैसियत समान रहेको जनाए। “पार्टीका भुइँतहका कार्यकर्ता नै हाम्रो शक्ति हुन्,” उनले जोड दिए।

थापाले निर्वाचनअघि र पछिका गठबन्धन असफल भएको भन्दै अबको संविधान संशोधनमा ती अनुभवबाट सिक्नुपर्ने बताए। कांग्रेस–एमाले सरकार संविधान संशोधनको प्रतिबद्धतासहित बनेको स्मरण गराउँदै उनले त्यसलाई बिर्सन नहुने बताए।

Advertisement

भ्रष्टाचारको सवालमा उनले कांग्रेस कसैको संरक्षणमा नलाग्ने स्पष्ट पारे। अबको दशक ‘विकास, उत्पादन र रोजगारी’ को दशक हुनुपर्ने धारणा पनि उनले राखे।

सम्मेलनमा केन्द्रीय सदस्य मधु आचार्य, मैकुलाल बाल्मिकी, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, बाँके सभापति नारायणप्रसाद गौडेललगायतले शुभकामना मन्तव्य दिएका थिए।

Advertisement

कार्यक्रममा क्षेत्रीय नेताहरुले सांगठनिक, राजनीतिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरे भने क्षेत्रीय सचिव सुनिल सिंह हमालले कार्यक्रम संचालन गरे। अध्यक्षता क्षेत्र नं. २ का सभापति रमेशकुमार गुप्ताले गरेका थिए।

यसै अवसरमा पूर्वमा नागरिक उन्मुक्ति पार्टीमा रहेका चन्तराम थारु र लक्ष्मण थारु नेपाली कांग्रेसमा पुनः प्रवेश गरेका छन्। उनीहरूलाई महामन्त्री थापाले स्वागत गरेका हुन्।

सम्मेलनकै दौरानमा नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले २०८२ सालको भित्तेपात्रो विमोचन गरिनुका साथै ३२५ जनाको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0