१९, जेष्ठ २०८२ सोमबार
वीरगञ्ज,
पर्सा जिल्लाको परवानीपुरबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले शनिबार दिउँसो २:३० बजे चेकजाँचको क्रममा उक्त रकमसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–२१ स्थित परवानीपुर चौकमा सवारी साधन जाँचका क्रममा मधेश प्रदेश ०३-०२९ प ४९७४ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुई जना युवामाथि शंका लागेपछि जाँच गर्दा सो रकम फेला परेको हो।
पक्राउ परेकाहरूमा पर्सा जिल्ला पकाहामैनपुर गाउँपालिका–२ निवासी २५ वर्षीय सुरेश कुमार बर्णवाल र भारत बिहार राज्य अन्तर्गत बेतिया बकुलहर निवासी १९ वर्षीय सत्यम कुमार रहेका छन्।
सुरेश बर्णवालले बोकेको कालो झोलाभित्र लुकाइ राखिएको अवस्थामा नेपाली रुपैयाँ १००० दरका ७७१ थान (रु. ७,७१,०००) र ५०० दरका ८५८ थान (रु. ४,२९,०००) गरी जम्मा १२ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) अनुसार हुण्डी कारोबारसम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।
यस विषयमा प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता किशोर लम्सालले अनुसन्धान भइरहेको बताएका छन्।