१९, जेष्ठ २०८२ सोमबार
बाँके,
बाँकेको खजुरा गाउँपालिकामा सञ्चालित बालिका शिक्षा कार्यक्रम अन्तर्गत ‘जीवन उपयोगी सीप र जलवायु न्याय क्लब’ विषयमा तीन दिने तालिम सुरु भएको छ। रुम टु रिडको आर्थिक तथा प्राविधिक सहयोग, खजुरा गाउँपालिकाको सहकार्यमा बास नेपालको आयोजनामा तालिम सञ्चालन भएको हो।
तालिममा खजुरा गाउँपालिकाभित्रका १६ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापक र फोकल शिक्षकहरूको सक्रिय सहभागिता रहेको छ।
कार्यक्रमको उद्घाटन
तालिमको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिकले गर्नुभयो। उहाँले रुम टु रिड र बास नेपालमार्फत सञ्चालित बालिका शिक्षा कार्यक्रम अत्यन्त सफल र प्रभावकारी भएको बताउँदै पालिकाले यस कार्यक्रमलाई निरन्तरता दिने योजना अघि सारेको जानकारी दिनुभयो।
उहाँले खासगरी मधेशी र मुस्लिम समुदायका किशोरीहरूमा आएको सकारात्मक परिवर्तनले अभिभावकहरूको धारणा पनि बदलिएको उल्लेख गर्नुभयो।
कार्यक्रमकी विशिष्ट अतिथि तथा खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले बालिका शिक्षा कार्यक्रमले शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय भूमिका खेलेको बताउनुभयो।
कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयोजक कृष्णा पोखरेलले विद्यालय निरीक्षणका क्रममा देखिएको सकारात्मक परिवर्तन कार्यक्रमको उपलब्धी भएको उल्लेख गर्दै यसलाई थप सशक्त ढंगले अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो।
तालिमका उद्देश्य
तालिमका प्रमुख उद्देश्यहरू यस प्रकार रहेका छन्:
जीवन उपयोगी सीपको १० तत्वहरूबारे जानकारी प्रदान गर्ने।सहभागी शिक्षकहरूलाई विद्यालयस्तरमै जीवन उपयोगी सीपको सुदृढ कार्यान्वयनका लागि तयार पार्ने।जलवायु न्याय पाठ्यक्रमको महत्व, संरचना र सिकाइ उद्देश्यहरू बुझाउने।लैङ्गिकता र जलवायु न्यायबारेको जानकारी प्रदान गर्दै शिक्षामा समावेशी दृष्टिकोण विकास गर्ने।
सहजीकरण र व्यवस्थापन
तालिममा रुम टु रिडका जय प्रजापती, दिनेश पोखरेल, निरोज कोइराला, साथै बास नेपालका हेमराज भट्ट, शोभा भण्डारी, सविता सुनार, जमुना चौधरीले सहजीकरण गरिरहेका छन्।
कार्यक्रमको अध्यक्षता बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गर्नुभयो भने स्वागत कार्यकारी निर्देशक नमस्कार शाहले गर्नुभएको थियो। धन्यवाद ज्ञापन पनि अध्यक्ष वर्माकै तर्फबाट प्रस्तुत गरिएको थियो।
सहभागिता र उपस्थिति
उद्घाटन समारोहमा खजुरा गाउँपालिकाका प्रमुख पदाधिकारीहरू, बास नेपाल र रुम टु रिडका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू तथा सम्पर्क शिक्षकहरूको उल्लेखनीय उपस्थिति थियो।