१९, जेष्ठ सोमबार २०८२
बाँके,
नेपाली पत्रकारिता क्षेत्र अन्तर्राष्ट्रिय तहमा पहिचान बनाउँदै लगेका बेला भारतको उत्तर प्रदेश, बहराइचमा आयोजित भव्य पत्रकार सम्मेलन तथा सम्मान समारोहमा वरिष्ठ सञ्चारकर्मी डा. डक्ट प्रसाद धिताललाई विशेष सम्मान प्रदान गरिएको छ।
उत्तर प्रदेश मान्यता प्राप्त पत्रकार एशोसिएसनको आयोजनामा सम्पन्न ‘हिन्दी पत्रकारिता दिवस’ विशेष कार्यक्रममा डा. धिताललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकारिता र सञ्चार क्षेत्रमा पुर्याएको दीर्घ योगदानको कदरस्वरूप भव्यरूपमा सम्मान गरिएको हो।
रेडियो मोर्निङ स्टारका स्टेसन म्यानेजरसमेत रहेका डा. धितालको योगदानको चर्चा गर्दै वक्ताहरूले उहाँलाई “राष्ट्र, अन्तरराष्ट्र र समाजका लागि प्रेरणाको स्रोत” को रूपमा सम्मान गरे। कार्यक्रममा गोरखापत्र दैनिकका संवाददाता सिराज खान र रेडियो नेपाल बाँकेका संवाददाता आलम खान पनि सम्मानित भए।
सिराज खानले गोरखापत्र जस्तो ऐतिहासिक संस्थामा आबद्ध हुँदै सामाजिक सरोकारका विषयमा खेलेको भूमिकाको विशेष प्रशंसा गरिएको थियो। हिन्दी पत्रकार एसोसियशनका अध्यक्ष अनन्द प्रकाश गुप्ताले खानको पत्रकारितामा समर्पणलाई “समाजप्रति उत्तरदायी पत्रकारिताको नमुना” भने।
त्यस्तै, रेडियो नेपाल बाँकेका संवाददाता आलम खानले विदेश मामिला, भूराजनीति तथा अनुसन्धानात्मक पत्रकारितामा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उनलाई प्रेस काउन्सिल अफ इन्डियाका पूर्व सदस्य रजा हुसेन रिजबी, वरिष्ठ महापमण्डलेश्वर स्वामी रवि गिरि महाराज, विधायक राम निवास बर्मा, विधायक सुभाष त्रिपाठी तथा सदाब हुसेनद्वारा हस्ताक्षरित सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा उत्तर प्रदेशका विधायक राम निवास बर्माले त्रेता युगदेखि कायम नेपाल-भारत सम्बन्धलाई थप प्रगाढ बनाउन सञ्चार क्षेत्रको भूमिका अपरिहार्य रहेको बताए। विधायक सुभाष त्रिपाठीले सीमावर्ती क्षेत्रको सहकार्य र समझदारी अभिवृद्धिमा दुवै देशका पत्रकारहरूले संयुक्त पहल गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा नेपाली मात्र नभई भारतीय पत्रकारहरूलाई समेत सम्मान गरिनु, पत्रकारिता क्षेत्रको समग्र योगदानप्रति गरिएको उच्च सम्मानको द्योतक बनेको छ।
नेपाल-भारत पत्रकारिता सम्बन्धमा सेतुका रूपमा प्रस्तुत भएको यस सम्मान समारोहले दुई देशबीचको पत्रकारिता साझेदारीलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।