१६, जेष्ठ २०८२ शुक्रबार
इरफान अलि (अरसद)
बाँके, नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का सक्रिय र जनप्रिय वडा सदस्य राजेश कुमार वैश्य फेरि एकपटक सामाजिक कार्यको अगुवा बनेका छन्। मुस्लिम समुदायको महान पर्व मोहोरमको अवसर पारेर फैज स्पोर्ट्स लाठी क्लबका खेलाडीहरूलाई सहज वातावरण बनाउन उनले आफ्नै तलबबाट माटो पटान गराएका छन्।
लाठी खेलजस्तो परम्परागत र कौशलमा आधारित खेललाई निरन्तरता दिने र खेलाडीहरूको मनोबल बढाउने उद्देश्यले गरिएको यो कामले समुदायमा निकै सकारात्मक सन्देश दिएको छ। क्लबका सदस्यहरू पनि वडा सदस्यको यो सहयोगप्रति खुसी व्यक्त गर्दै धन्यवाद दिएका छन्।
यो पहिलो पटक भने हैन, यसअघि पनि वैश्यले आफ्नो तलबकै रकमबाट नेपालगन्जको तातो गर्मीलाई ध्यानमा राखी सार्वजनिक धाराको व्यवस्था गरेका थिए। त्यसबेला उनले केही स्थानमा प्यास मेटाउने सुविधा पुर्याएका थिए, जुन कार्य अहिले पनि स्थानीयबासीको स्मरणमा छ।
“सामाजिक काम गर्नु मेरो कर्तव्य हो, पद भन्दा ठूलो सेवा हो,” वडा सदस्य वैश्यको छोटो तर गहिरो प्रतिक्रिया।
उनको यो निरन्तर सामाजिक सक्रियता देख्दा स्थानीयहरू भन्छन् — “हामीलाई नेताभन्दा सेवक चाहिएको हो, र राजेशजी त्यही सेवक बन्न सफल देखिन्छन्।”