१५, जेष्ठ २०८२ बिहिवार
बाँके, नेपालगन्ज — नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीको आयोजनामा सेतुविक चोकमा दीप प्रज्वलन कार्यक्रम गरी १८औँ गणतन्त्र दिवस भव्य रूपमा मनाइएको छ।
कार्यक्रमको अध्यक्षता उपमहानगरपालिका कमिटी अध्यक्ष प्रेम शाहले गरेका थिए भने प्रमुख अतिथि नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य दिपेन्द्र बिष्ट रहेका थिए। कार्यक्रममा सम्बोधन गर्दै बिष्टले गणतन्त्र प्राप्तिका लागि भएको जनबलिदानको स्मरण गर्दै अबकाे जिम्मेवारी गणतन्त्रका उपलब्धिहरूको रक्षा र सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताए।
कार्यक्रममा प्रदेश कमिटी परिषद सदस्य तथा उद्योग वाणिज्य संघ बाँकेका अध्यक्ष टंक धामीले गणतन्त्रले स्थापना गरेका नागरिक अधिकार र संस्थागत रूपान्तरणका पक्षमा प्रकाश पारे। उनले लोकतान्त्रिक मूल्य र जनताको सहभागिता गणतन्त्रको मेरुदण्ड भएको बताए।
कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य बसन्त मल्ल, उद्योग वाणिज्य संघकी महिला उपाध्यक्ष मन्दिरा पाण्डे, प्रेस सेन्टर नेपालका बाँके जिल्ला अध्यक्ष चन्द्र बोहरा, नगर अध्यक्ष इरफान अली (अरसद), अनेरास्ववियू (क्रान्तिकारी) नगर अध्यक्ष बिष्णु कनौजिया अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला अध्यक्ष सुनिल बटाला, वाइसीएल नेपालगन्ज नगर अध्यक्षलगायत नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति थियो।
अध्यक्ष प्रेम शाहले दीप प्रज्वलन गर्दै गणतन्त्र स्थापनामा नेपाली जनताको संघर्ष, बलिदान र त्यागलाई स्मरण गर्दै यस्तो ऐतिहासिक दिनलाई उत्सवको रूपमा मनाउनु पर्ने बताए।
कार्यक्रमको सञ्चालन नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीका सचिव धर्मराज न्यौपानेले गरेका थिए।