१५, जेष्ठ २०८२ बिहिवार
डडेल्धुरा ,
डडेल्धुरा, जेठ १५ – “समुदाय–प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत डडेल्धुराका विभिन्न प्रहरी इकाइहरूले विभिन्न सामाजिक मुद्दाहरूमा लक्षित जनचेतनामूलक कार्यक्रम तथा सरसफाइ अभियान सञ्चालन गरेका छन्।
प्रहरी चौकी बेलापुर, डडेल्धुराले नवदुर्गा गाउँपालिका–३, चिल्फीस्थित नव निर्मित नवदुर्गा मन्दिर परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ। यस अभियानले धार्मिकस्थलको स्वच्छता र समुदायमा स्वच्छ वातावरणप्रति चेतना जगाउने उद्देश्य राखेको थियो।
यसैबीच, प्रहरी चौकी सकायलले गन्यापधुरा गाउँपालिका–३ स्थित श्री जनता माध्यमिक विद्यालय, सकायलमा अध्ययनरत विद्यार्थीहरूसँग “जातीय विभेद रोकथाम तथा न्यूनीकरण” विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्यो। कार्यक्रममा जातीय समानता, सहिष्णुता र सामाजिक समावेशीताबारे विद्यार्थीहरूसँग संवाद गरिएको थियो।
त्यस्तै, अस्थायी प्रहरी पोस्ट चमडाले अजयमेरु गाउँपालिका–२, बसनास्थित श्री नवदुर्गा आधारभूत विद्यालयमा कक्षा ७ र ८ का विद्यार्थीहरूसँग “बहुविवाह रोकथाम तथा न्यूनीकरण” विषयमा चेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा बहुविवाहका सामाजिक, कानुनी र व्यक्तिगत असरहरूबारे जानकारी दिइएको थियो।
समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत प्रहरी र स्थानीय समुदायबीचको सम्बन्ध सुदृढ गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको जनाइएको छ। यस्ता गतिविधीहरूले सामाजिक विकृति हटाउँदै समुन्नत समाज निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ।