१३, जेष्ठ २०८२ मगंलवार
हेमराज भट्ट
बाँके, खजुरा – सकारात्मक सोच र सामाजिक परिवर्तनको प्रेरणासँगै समुदायमा अग्रणी भूमिका निर्वाह गर्न मुस्लिम महिलाहरु अघि सरेका छन्। बाँकेको खजुरा गाउँपालिकामा सम्पन्न ‘मुस्लिम महिलाका लागि आत्मनिर्भरता र नेतृत्व विकास’ सम्बन्धी तीन दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा सहभागि महिलाहरुले सिकेका सीप र ज्ञानलाई व्यवहारमा उतार्दै समुदाय परिवर्तनका लागि अग्रसर रहने दृढ संकल्प व्यक्त गरेका छन्।
तालिमको समापन कार्यक्रममा खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुसिला न्यौपानेले तालिमले महिलाहरुमा सकारात्मक व्यवहारिक परिवर्तन ल्याएको बताइन्। उनले तालिममा प्राप्त ज्ञान र सीपलाई दैनिक जीवनमा प्रयोग गरी आत्मनिर्भर बन्न सहभागिहरुलाई आग्रह गरिन्।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले मुस्लिम महिलाको क्षमता विकास र आत्मबल बढाउने उद्देश्यले तालिम आयोजना गरिएको बताए। सहभागी महिलाहरुबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले तालिम प्रभावकारी र उद्देश्यअनुकूल रहेको स्पष्ट भएको उनको भनाइ थियो। उनले महिलाहरुलाई आफ्नो अधिकार पहिचान गर्दै अगाडि बढ्न प्रेरित गरे।
तीन दिनसम्म चलेको तालिममा बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्मा, निर्वतमान अध्यक्ष लुना बुढाथोकी, उपाध्यक्ष दिला शाह, महासचिव कल्पना अधिकारी, पूर्व अध्यक्ष रमेश सिटौला, निर्देशक हेमराज भट्ट तथा मुस्लिम अगुवा मैमुना शिद्धिकीले सहजीकरण गरेका थिए। तालिममा खजुरा गाउँपालिकाका विभिन्न वडाबाट सहभागी ३३ जना मुस्लिम महिलाहरुले सक्रिय सहभागिता जनाएका थिए।
तालिमको संयोजन बास नेपालका राष्ट्रिय बुढा मगरले गरेका थिए भने समापन कार्यक्रमको अध्यक्षता बास नेपालका अध्यक्ष शिव कुमार वर्माले गरेका थिए।
यस तालिमले मुस्लिम महिलाहरुमा आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्दै, सामाजिक अग्रसरता र सकारात्मक परिवर्तनतर्फ उन्मुख गराउने विश्वास आयोजक र सहभागी दुवैले व्यक्त गरेका छन्।