समाचार

जनयुद्धकालीन कलमवीरको सम्झनामा प्रेस सेन्टर नेपाल बाँकेले कृष्ण सेन “इच्छुक” स्मृति दिवस मनाइयो

१३, जेष्ठ मगंलवार २०८२ 

बाँके, 

बाँके, नेपालगन्ज – सहिद कृष्ण सेन “इच्छुक” को औं स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल, बाँकेले आज ‘इच्छुक र जनपक्षीय पत्रकारिता’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्यो। कार्यक्रममा सहभागी वक्ताहरूले सहिद सेनप्रति श्रद्धाञ्जली अर्पण गर्दै न्याय र स्वतन्त्रताका लागि उनले देखाएको बाटोलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।

पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले समाज र जनताको हितमा निर्भीकता, निष्ठा र इमानदारीका साथ लेखन कार्य गर्न सकेमा मात्र कृष्णसेनको स्मृतिमा साँचो श्रद्धाञ्जली अर्पण गर्न सकिने बताएका छन्।

कार्यक्रममा पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष द्वय निरज गौतम र झलक गैरे, प्रेस चौतारी बाँकेका अध्यक्ष कमल डाँगी, प्रेस युनियनका अध्यक्ष प्रियास्मृति ढकाल, प्रेस सेन्टरका केन्द्रीय सदस्य सुशिल लामिछाने, प्रदेश अध्यक्ष प्रदीप वाग्ले, पत्रकार शरण कर्माचार्यलगायतले विचार राख्दै इच्छुकको साहस, प्रतिबद्धता र जनपक्षीय सोच आजको पत्रकारिता अभ्यासमा अत्यन्त सान्दर्भिक रहेको उल्लेख गरे।

Advertisement

कविता वाचनमार्फत सहिद सेनको स्मृति झल्काउने भावनात्मक प्रस्तुति पनि कार्यक्रममा देखियो। कवि कपिल अन्जान र पत्रकार बिपी अस्तुले इच्छुकको सम्झनामा कविता सुनाए, जसले सहभागीहरूलाई भावुक बनायो।

कार्यक्रममा २०५६ साल पुष १९ गते ललितपुरको भट्टेडाँडास्थित प्रहरी चौकीमाथि माओवादी आक्रमणको समाचार सम्प्रेषण गरेको भन्दै सेन सम्पादक रहेको जनादेश साप्ताहिक प्रतिबन्धित गरिएको र उनलाई पक्राउ पूर्जी जारी गरिएको प्रसंग पनि स्मरण गरियो। वि.सं. २०५९ जेठ ६ गते महेन्द्र पुलिस क्लबको हिरासतमा सारिएका सेनलाई १३ गते त्यही हिरासतमा अमानवीय यातना दिइ हत्या गरिएको थियो।

Advertisement

कार्यक्रमको समापन गर्दै प्रेस सेन्टर नेपाल बाँकेका जिल्ला अध्यक्ष चन्द्र बोहराले भावुक हुँदै भने, “उहाँ हिरासतको कठोर पीडामा पनि निडर, अविचल र सत्यको पक्षमा अडिग रहनुभयो। उहाँले देखाएको मार्ग नै हाम्रो प्रेरणा हो।”
अध्यक्ष बोहराले थपे, “सत्य, न्याय र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न हामी पनि त्यही बाटो पछ्याउनेछौं। यही संकल्पका साथ आजको कार्यक्रमलाई समापन गर्न चाहन्छौं।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
2
+1
0