१२, जेष्ठ २०८२ सोमबार
इरफान अलि (अरसद)
नेपालगञ्ज, १२ जेष्ठ — नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका किसानहरूलाई लक्षित गर्दै तीन किसिमका धानको बिउ ५० प्रतिशत अनुदानमा वितरण गर्ने तयारी गरेको छ। उपमहानगरका उपमेयर कमरुद्दिन राईका अनुसार हाल १५ हजार टन धानको बिउ वितरणको तयारी अन्तिम चरणमा पुगेको छ।
उपमेयर राईले जानकारी दिएअनुसार यो निर्णय केही दिनभित्रै उपमहानगरको बोर्ड बैठकबाट अनुमोदन गरी तत्काल कार्यान्वयनमा ल्याइनेछ। “धान रोपाइँको समय नजिकिँदै छ, मौसम पनि अनुकूल देखिएको छ। यस्तो अवस्थामा किसानलाई ढिला नगरी आवश्यक बिउ उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो,” राईले बताए।
उपमहानगरपालिकाले किसानहरूको मागअनुसार बिउ छनोट गरी वितरण प्रक्रिया अघि बढाएको छ। किसानहरूलाई सहज रूपमा बिउ प्राप्त होस् भन्ने उद्देश्यले वितरण केन्द्र र समय तालिका पनि चाँडै सार्वजनिक गरिनेछ।
नेपालगञ्ज उपमहानगरपालिकाको यो कदमले नगरभित्रका कृषकहरूलाई कृषि उत्पादनमा सहयोग पुर्याउने र समयमै रोपाइँ सम्पन्न गर्न सघाउने अपेक्षा गरिएको छ।