१२, जेष्ठ २०८२ सोमबार
काठमाडौं,
काठमाडौँ, जेठ १२ – आगामी जेठ १५ गते राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समितिले राजधानी काठमाडौँमा आयोजना गर्न लागेको जनआन्दोलनका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दिइएको उत्तेजनात्मक अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण जनाएको छ।
प्रधानमन्त्री ओलीले एक सार्वजनिक कार्यक्रममा “जेठ १५ गते एघार बजेदेखि दुई बजेसम्म काठमाडौँ नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त निर्देशनले मुलुकमा शान्ति सुरक्षामा असर पार्न सक्ने र लोकतान्त्रिक मूल्य–मान्यता प्रतिकूल हुने आयोगको ठहर छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सरकारको हो। यस्तो अवस्थामा कुनै पार्टी विशेषले राजधानी कब्जामा लिनुपर्छ भन्ने अभिव्यक्ति विधिको शासन विपरीत मात्र नभई, द्वन्द्व र निषेधको वातावरण सिर्जना गर्ने खालको हो।”
आयोगले सबै राजनीतिक दल, समूह तथा व्यक्तिहरूलाई संयमित अभिव्यक्ति दिन, अरुप्रति लक्षित अपमानजनक टीका–टिप्पणी नगर्न र आफ्ना प्रदर्शनहरू शान्तिपूर्ण ढंगले गर्न आह्वान गरेको छ।
राजधानी काठमाडौँमा सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै आयोगले सुरक्षा निकायलाई शान्ति सुरक्षामा थप सतर्कता अपनाउन निर्देशन दिएको छ।