१२,जेष्ठ २०८२ सोमबार
काठमाडौं
काठमाडौं, जेठ १२ – नेपाली वाम आन्दोलनमा एक नयाँ मोड आएको छ। गंगा नारायण श्रेष्ठको नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा) नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मा समायोजन भएको छ। दुवै पार्टीबीच एकता सहमतिपत्रमा हस्ताक्षर गर्दै औपचारिकरूपमा पार्टी एकता सम्पन्न गरिएको हो।
प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको विशेष भेलाले समायोजन सम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ। भेलामा नेसपा अध्यक्ष गंगा नारायण श्रेष्ठ सहितको टोलीको औपचारिक समायोजन गरिएको हो।
समायोजनपछि गंगा नारायण श्रेष्ठलाई नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सचिवको जिम्मेवारी दिइएको छ भने बाँकी नेसपा नेताहरुलाई समेत पार्टीभित्र सम्मानजनक भूमिका प्रदान गरिने जनाइएको छ।
भेलामा पारित निर्णय अनुसार पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद-लेनिनवाद र माओवाद हुने, नेपाली विशेषता अनुरुपको समाजवादी क्रान्तिको कार्यक्रम लागु गरिने, र आन्दोलनका विभिन्न स्वरूपलाई परिस्थिति अनुसार प्रयोग गरिने उल्लेख छ। साथै, जनवादी केन्द्रियताको सिद्धान्तअनुसार विचारमा स्वतन्त्रता र कार्यमा एकरूपता कायम गर्दै पार्टी सञ्चालन गरिने बताइएको छ।
यस समायोजनसँगै नेसपाका सम्पूर्ण तहका कार्यकर्ता तथा नेताहरु आजको मितिदेखि माओवादी केन्द्रमा समाहित भएका छन्।
यो एकता नेपालमा वामपन्थी शक्तिहरूको एकता प्रयासमा थप बल मिल्ने संकेतको रूपमा हेरिएको छ।