१०, जेष्ठ २०८२ शनिबार
बाँके,
नेपालगञ्ज – प्रतिनिधि सभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रिय उपाध्यक्ष प्रकाश ज्वालाले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै वर्तमान सरकारमाथि कडा प्रहार गरेका छन्।
नेपालगञ्जमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसमेत रहेका ज्वालाले देशमा मौलाउँदै गएको भ्रष्टाचार, कालोबजारी र प्रशासनिक बेथितीप्रति गम्भीर चिन्ता व्यक्त गरे। “भ्रष्टाचारको जड संरक्षित छ, जिम्मेवारहरूले नै बाटो छेकेका छन्,” ज्वालाको आरोप थियो।
छानबिनलाई सहज र प्रभावकारी बनाउन गृहमन्त्री स्वयम्ले नै राजीनामा दिनुपर्ने ज्वालाको धारणा छ। “राजीनामाबाट छानबिनको वातावरण सहज हुन्छ,” उनले भने।
उहाँले २०४६ सालयता राज्यका उच्च पदमा बसेर लाभ लिने सबै विशिष्ट व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरे। त्यस्तै, जनप्रतिनिधिहरूको सेवा–सुविधा ५० प्रतिशतले घटाउनुपर्ने, कालोधनलाई कानुनी मान्यता दिँदै निश्चित समयभित्र विकास क्षेत्रमा प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव दिए।
“कालोबजारी हटाउन अब सरकार कडाइमा जानुपर्छ, होइन भने जनआक्रोश नियन्त्रणबाहिर जान सक्छ,” उनले चेतावनी दिए।
भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थापना र जनविश्वास पुनःस्थापनाका लागि सशक्त राजनीतिक इच्छाशक्ति अपरिहार्य रहेको ज्वालाको धारणा छ। “राष्ट्रहितलाई प्राथमिकतामा राखेर निर्णय गर्न सकिन्छ,” उनले भने।
देशको आर्थिक व्यवस्थापनमा पनि स्पष्ट धारणा राख्दै उनले साना नोटको मात्रा बढाउने, ५०० र १००० रुपैयाँका नोटलाई यथास्थितिमा राख्ने र कालोधन सेतो बनाउन समयसीमा तोक्नुपर्ने सुझाव दिए।
“अब कुराले चिउरा भिज्दैन, सरकारले काम गरेर देखाउनु पर्छ,” ज्वालाको दोहोऱ्याइ थियो।