१०, जेष्ठ २०८२ शनिबार
इरफान अलि
बाँके, नेपालगन्ज
२०७७ सालको यही दिन, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा अन्तरजातीय प्रेम सम्बन्धकै कारण जाजरकोटबाट आएका नवराज विक सहित ६ जना युवाहरूमाथि भएको विभत्स जातीय नरसंहारको सम्झनामा आज नेपालगन्जमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
विपी चोकमा साँझ ६ बजे सुरु भएको कार्यक्रममा, सहभागिहरूले दीप प्रज्वलन गर्दै विभेद र हिंसाको विरोधमा मौन श्रद्धाञ्जली अर्पण गरे। कार्यक्रममा समाजका विभिन्न क्षेत्रका अगुवा, नागरिक समाज, अधिकारकर्मी र पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
राष्ट्रिय दलित पत्रकार संघ, बाँके शाखाद्वारा आयोजित कार्यक्रमले जातीय विभेदविरुद्धको सशक्त सन्देश सम्प्रेषण गरेको छ। वक्ताहरूले न्याय नपाएका पीडित परिवारको पीडा, कमजोर अनुसन्धान र राज्यको उदासीनता प्रति गम्भीर चिन्ता व्यक्त गरे।
“नवराज विकको बलिदान नेपाली समाजमा समावेशीता र समानताको आन्दोलनको प्रतीक बनेको छ,” कार्यक्रममा बोल्दै एक अधिकारकर्मीले भने।
कार्यक्रमले जातीय विभेद र छुवाछुतविरुद्धको अभियान अझ तीव्र पार्नुपर्ने आवश्यकता औंल्याएको छ।