९, जेष्ठ २०८२ शुक्रबार
बाँके,
अनलाइन टिभी पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णराज अधिकारीले पत्रकार आचारसंहिताको पूर्ण कार्यान्वयन आजको आवश्यकता मात्र नभई जिम्मेवार पत्रकारिताको आधार भएको बताएका छन्।
संघको पहिलो प्रदेश बैठक शुक्रबार नेपालगञ्जमा सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले डिजिटल मिडियाको युगमा अनलाइन टेलिभिजन पत्रकारिता थप सशक्त र प्रभावकारी बनाउनेतर्फ सबै पत्रकार गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले भने, “अनलाइन टेलिभिजन पत्रकारिता गर्नेहरूलाई स्वागत गर्दै आचारसंहिता पालना गरी आवाजविहीनको आवाज बन्नु आवश्यक छ। हामी लुम्बिनी प्रदेशभरि यसबारे जनचेतनामूलक अभियान सञ्चालन गर्नेछौं।”
बैठकले अनलाइन पत्रकारितामा एआई प्रविधिको प्रयोगलाई व्यवस्थित गर्दै पत्रकारलाई प्राविधिक ज्ञान प्रदान गर्ने, स्थानीय, प्रदेश तथा संघीय सरकारसँग समन्वय गरी प्रविधिको उपयोगमा सहजीकरण गर्ने निर्णय गरेको छ। साथै, अनलाइन टेलिभिजनको गतिविधिमा अनुगमन तथा परामर्शदाताको भूमिकामा संघ सक्रिय हुने निर्णय पनि बैठकमा गरिएको छ।
सचिव सावित्री गिरीका अनुसार, संघले जेठ महिनाको अन्त्यसम्ममा बर्दिया जिल्लामा शाखा विस्तार गर्ने र आगामी असार महिनामा दोस्रो बैठक दाङ जिल्लामा आयोजना गर्ने योजना बनाएको छ। लुम्बिनी प्रदेशका सबै १२ वटै जिल्लामा संघका शाखा विस्तार गर्ने र रचनात्मक कार्यक्रममार्फत पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने मुख्य लक्ष्य रहेको सचिव गिरीले बताउनुभयो