समाचार

नेपालगञ्ज–दिल्ली उडानका लागि आग्रह : मानसरोवर यात्रालाई लक्षित गर्दै पहल तीव्र

९, जेष्ठ २०८२ शुक्रबार 

बाँके,

उद्योग वाणिज्य सङ्घले नेपालगञ्ज–दिल्ली सीधा उडानको पुनः सुरु गर्न भारत सरकारसँग औपचारिक आग्रह गरेको छ। पर्यटन प्रवर्द्धन र विशेषगरी मानसरोवर यात्राका लागि सहज पहुँच सुनिश्चित गर्न उडानको आवश्यकतामा जोड दिँदै सङ्घले भारत सरकारको केन्द्रीय नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएको हो।

उक्त आग्रहपत्र नेपाल भारत मैत्री संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष अनुप कुमार सिंहमार्फत भारत सरकारलाई पठाइएको हो। नेपालगञ्जमा आयोजना गरिएको विशेष कार्यक्रममा समाजसेवी, व्यवसायी तथा नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरू सहितको उपस्थितिमा सो पत्र हस्तान्तरण गरिएको थियो।

लामो समयदेखि दिल्ली–नेपालगञ्ज उडान पुनः सञ्चालनको माग उठाउँदै आएका सामाजिक अभियन्ता तथा नेपाल भारत संगठनका अन्तर्राष्ट्रिय केन्द्रीय सदस्य आशिष कुमार गुप्ताले पहलका लागि अनुप कुमार सिंहलाई आग्रह गरेका थिए। सोही अनुरूप सिंह नेपालगञ्जमा उपस्थित भई स्थानीय सरोकारवालासँग छलफल गर्दै पत्र बुझाएका हुन्।

गुप्ताका अनुसार, “नेपालगञ्ज मानसरोवर यात्राका लागि प्रमुख नाका हो। दिल्ली–नेपालगञ्ज उडान सञ्चालन भएमा भारतीय तीर्थयात्रीहरूका लागि ठूलो सहजता हुने छ। यसले नेपालगञ्जलाई धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा उचाइमा पुर्‍याउनेछ।”

Advertisement

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव भीम रानाभाट, नेपाल भारत जनमैत्री संगठनका पदाधिकारीलगायतको उपस्थिति रहेको कार्यक्रममा अनुप कुमार सिंहले उडान सुरु भएमा नेपालगञ्ज टुरिजमको ‘हब’ बन्ने विश्वास व्यक्त गरे। साथै, यसले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थप्ने पनि उल्लेख गरे।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले यो माग दीर्घकालीन हितमा आधारित रहेको बताउँदै भारत सरकारले सकारात्मक पहल गर्ने विश्वास व्यक्त गरेको छ।

Advertisement

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0