८, जेष्ठ २०८२ बिहीबार
काठमाडौं, जेठ ८ – सन् २०२५ (वि.सं. २०८२) मा हज गर्न जाने नेपाली हजयात्रीहरूका लागि ‘कन्फिडेन्स नेपाल’ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर सफलता पूर्वक सम्पन्न भएको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलको प्रमुख आतिथ्यमा जेठ १ गते उद्घाटन गरिएको शिविर सात दिनसम्म निरन्तर सञ्चालनमा रही जेठ ८ गते बुधबार भव्यताका साथ समापन भएको हो।
समापन समारोहमा संघीय सांसद सिराज अहमद फारुकीले कन्फिडेन्स नेपालका सम्पूर्ण टोलीलाई साहसिक कार्य सम्पन्न गरेकोमा बधाई दिँदै युवाहरूले शिक्षा हासिल गरी समाज र राष्ट्र सेवामा समर्पित हुनु गर्वको विषय भएको बताए।
मधेश प्रदेशका सांसद रजी हैदरले संस्था आफ्नो मौलिकता कायम राख्दै निस्वार्थ भावले हजयात्रीहरूको सेवा गरेकोमा प्रशंसा गर्दै भविष्यमै यस्ता कार्यहरू निरन्तरता पाउने विश्वास व्यक्त गरे।
शिविरमा सेवा पुर्याउने चिकित्सकहरू, मेडिकल विद्यार्थी, फार्मासिष्ट, बायोटेक्नोलोजिष्टलगायत २५ जनाभन्दा बढी स्वयमसेवक सहभागी थिए। शिविर इन्चार्ज फर्मासिष्ट उम्मे हानी अन्सारीका अनुसार करिब ५०० जना हजयात्री र तिनीहरूका परिवारजनले स्वास्थ्य सेवा प्राप्त गरेका थिए।
शिविरको नैतिक, व्यवस्थापकीय र चिकित्सकीय नेतृत्व सम्हाल्ने उपाध्यक्ष हानी अन्सारीले “कुनै पनि बिरामीलाई औषधिबिनै फर्काउनु नपर्नु” शिविरको ठूलो सफलता रहेको बताउँदै, सेवा दिने सबै चिकित्सक, स्वयंसेवकहरूप्रति आभार व्यक्त गरिन्।
शिविरमा डाक्टर नेहाल अशरफ, डा. बिलाल, डा. शबाना मुकेरी, डा. मोहम्मद साकीब, डा. मासुम रजा मिकरानी, डा. अजहर हुसैन फारुकी, फार्मासिष्ट फरहान नूर, लगायत अन्य स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गरेका थिए।
संस्थाका अध्यक्ष शमशाद अहमदले ‘हरमैन शरिफैन’ जाने पाहुनाहरूको सेवा गर्न पाउनु सौभाग्य भएको बताउँदै संस्थाले समाज सेवामा युवाहरूलाई संलग्न गराउन सफल भएकोमा खुसी व्यक्त गरे।
शिविरमा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो भने समाजसेवी हुसैन खानले कन्फिडेन्स टिमलाई बधाई दिँदै यस्ता सकारात्मक कार्यहरू समाजमा प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरे।
यस शिविरमार्फत कन्फिडेन्स नेपालले आफ्नो समाजसेवी पहिचानलाई अझ बलियो बनाउँदै आगामी दिनमा पनि यस्तै जनसेवामूलक कार्यमा अग्रसर रहने प्रतिबद्धता जाहेर गरेको छ।