७, जेष्ठ २०८२ बुधबार
नेपालगन्ज, जेष्ठ ७ – बैजनाथ गाउँपालिका–२ नं. वडाको सेवा र सुविधाको प्रभावकारितामाथि केन्द्रित सार्वजनिक सुनुवाई सोमबार सम्पन्न भएको छ। बास नेपालको सहजिकरणमा वडाले आयोजना गरेको सुनुवाई कार्यक्रममा वडाबासी र सेवा प्रदायक निकायबीच प्रत्यक्ष छलफल भएको थियो।
सुनुवाईको अन्त्यमा वडाध्यक्ष राजु रुचाल ठकुरीसहित वडाका पदाधिकारी र सरोकारवालाहरूको सहभागितामा ६ बुँदे साझा प्रतिबद्धता सार्वजनिक गरिएको छ। प्रतिबद्धताहरू यसप्रकार छन्:
१. आवश्यक तर छुटेका योजना समेट्ने – चालु आर्थिक वर्षमा समेटिन नसकेका महत्त्वपूर्ण योजना आगामी वर्षको प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने।
२. धुलो सडक सुधार – मन्द्रादेखि बौद्ध मन्दिरसम्मको धुलाम्मे सडक सुधारका लागि तत्काल प्रदेश सरकारसँग समन्वय गरी योजना अघि बढाइने।
३. खानेपानी समस्या समाधान – वडाभित्र विद्यमान पिउने पानीको समस्यालाई सम्बोधन गर्दै यथासक्य व्यवस्थापन गरिने।
४. जानकी मन्दिर व्यवस्थापन – बजेट विनियोजन भइसकेको जानकी मन्दिरको रंगरोगन तथा घेराबार कार्य शीघ्र प्रारम्भ गरिने।
५. रिहार टोलमा सडक निर्माण – बाटो अभावको गुनासो आएको रिहार टोलमा स्थानीय सहमतिसहित निवेदन परेमा सडक निर्माण पहल गरिने।
६. निशा वितरण प्रक्रिया – निशा वितरणका लागि आवश्यक कागजातसहित निवेदन आएमा प्रक्रिया अगाडि बढाइने।
सार्वजनिक सुनुवाईमा वडाअध्यक्ष ठकुरीसहित वडा सदस्यहरू भुमिसरा थापा मगर, भुवाने दमाई, शोभा कुमारी थारु, सितादेवी विश्वकर्मा, तथा वडा सचिव मदन प्रसाद थारुले प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए।
कार्यक्रममा बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले सहजीकरण गरेका थिए। सुनुवाईको उद्देश्यबारे प्रकाश वास नेपालकी शोभा थापा मगरले गरेकी थिइन् भने चालु आर्थिक वर्षको प्रगतिबारे वडा सचिव थारुले प्रस्तुती दिएका थिए।
सुनुवाईमा वडाका एक सयभन्दा बढी स्थानीयबासीको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले प्रतिबद्धतालाई ताली बजाउँदै अनुमोदन गरेका थिए।