७, जेठ २०८२ बुधबार
युसुफ अन्सारी
नेपालगंज, २०८२ जेठ ७ – “हामी आफै बनाउँ, हाम्रो वडा आत्मनिर्भर र समृद्ध वडा – आर्थिक समृद्धिको आधार लघु उद्यम मार्फत रोजगार” भन्ने नारासहित नेपालगंज उप-महानगरपालिका वडा नं. ५ को आर्थिक सहयोगमा एक महिने निशुल्क ड्राइभिङ्ग तालिम सुरु गरिएको छ।
नेपालगंज उप-महानगरपालिका वडा नं. ५ को कार्यालयको आर्थिक सहयोग तथा सामाजिक रुपान्तरण मञ्च, नेपाल (नेपालगंज, बाँके) को आयोजनामा सुरु भएको तालिम मृगतृष्णा ड्राइभिङ्ग ट्रेनिङ्ग सेन्टरले सञ्चालन गर्दैछ।
यस तालिममा सहभागी हुने युवाहरुलाई व्यावसायिक स्तरको सवारी साधन सञ्चालन सम्बन्धी ज्ञान दिइनेछ, जसले उनीहरूलाई रोजगारी प्राप्त गर्न तथा आत्मनिर्भर बन्न सहयोग गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
तालिम २०८२ साल जेठ ७ गतेदेखि असार ८ गतेसम्म सञ्चालन हुनेछ। आयोजक संस्था सामाजिक रुपान्तरण मञ्चले यो कार्यक्रमले स्थानीय तहको समावेशी आर्थिक विकासमा योगदान पुर्याउने र युवामा सीप विकासका लागि मार्गदर्शन गर्ने उल्लेख गरेको छ।
वडा कार्यालयले आगामी दिनहरूमा यस्ता व्यवहारिक र रोजगारमुखी तालिमहरूलाई निरन्तरता दिने प्रतिबद्धता समेत रहेको वडा अध्यक्ष सराफत हुसेन शेषले जनाएका हुन।