५ जेठ २०८२ सोमबार
इरफान अलि (अरसद)
बाँके, नेपालगन्ज
डिजिटल मिडियाको युगले पत्रकारिताको स्वरूपलाई फेरिरहेको छ। यही पृष्ठभूमिमा, अनलाइन टिभी पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशले व्यवस्थित, नैतिक र प्रभावकारी पत्रकारिताको दिशामा एक नयाँ अभ्यासको सुरुवात गरेको छ।
प्रथम प्रदेश अधिवेशन तथा अभिमुखीकरण कार्यक्रममार्फत संघले एआई प्रविधिको प्रयोगसँगै पत्रकार आचारसंहितालाई व्यवहारमा उतार्ने सङ्कल्प लिएको छ। संघको नयाँ नेतृत्व कृष्णराज अधिकारीको अध्यक्षतामा चयन भएको छ।
नयाँ कार्यसमिति यस्तो छ:
बरिष्ठ उपाध्यक्ष– दिपक न्यौपाने
उपाध्यक्ष– रञ्जित शाह
सचिव– सावित्री गिरी
सहसचिव– मनबहादुर सहकारी
कोषाध्यक्ष– भावना बुढा मल्ल
सदस्यहरू– इरफान अली (अरसद), चन्द्रेश्वर त्रिपाठी, कुशल बिक, स्वेता गिरी
कार्यसमिति चयनअघि गरिएको अधिवेशन उद्घाटन कार्यक्रममा विभिन्न तहका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले डिजिटल मिडियाको महत्वलाई स्वीकार्दै, पत्रकार क्षमता अभिवृद्धिमा स्थानीय सरकारको साथ रहने प्रतिबद्धता जनाए।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले एआई प्रयोगको प्रशंसा गर्दै पत्रकारितामा सृजनशीलता र सामाजिक सरोकारको सन्तुलन कायम राख्न सुझाव दिए।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले संघले थालेको अभियानलाई सकारात्मक रुपमा लिँदै पत्रकार प्रशिक्षण र सशक्तिकरणमा निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे। बाँके शाखाका अध्यक्ष नवीन गिरीले पत्रकार आचारसंहिता बुझाउने र व्यावहारिक बनाउने संघको प्रयासलाई स्वागत गरे।
कार्यक्रममा एआई विषयमा प्रशिक्षण दिँदै केन्द्रीय अध्यक्ष जीवन भण्डारीले डिजिटल पत्रकारितामा प्रविधिको प्रयोगले गुणस्तरीय सामग्री उत्पादनमा सहयोग गर्ने बताए। भण्डारी हाल देशभर डिजिटल मिडियाका पत्रकारहरूबीच आचारसंहिता र एआईको प्रयोगबारे जानकारी दिन दौडाहामा छन्।
सो कार्यक्रममा बाँके, बर्दिया, रुपन्देही, पाल्पा, दाङ, सुदूरपश्चिम र कर्णाली प्रदेशका ६० भन्दा बढी अनलाइन टिभी पत्रकारहरूको उपस्थिति थियो।
नयाँ कार्यसमितिको नेतृत्वले लुम्बिनीमा डिजिटल पत्रकारिताको अनुशासित र उत्तरदायी युगको थालनी गर्ने अपेक्षा गरिएको छ।