समाचार

‘नक्कली सर्टिफिकेट उद्योग’: सिटिइभिटीका सहायक निर्देशकमाथि कालोमोसो

४, जेठ २०८२ आइतबार 

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सहायक निर्देशक गोविन्द पौडेलमाथि ‘नक्कली सर्टिफिकेट बेचबिखनमा संलग्न’ भएको आरोपसहित कालोमोसो दलिएको छ। नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) संगठनले आइतबार जनकारबाहीको रूपमा पौडेलमाथि सार्वजनिक अपमान गर्दै चेतावनी दिएको हो।

मधेश प्रदेश समितिको अगुवाइमा गरिएको कारबाहीसँगै संगठनले सात बुँदे आरोपसमेत सार्वजनिक गरेको छ। ती आरोपमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा कार्यरत रहँदा पौडेलले फेल भएका विद्यार्थीलाई अवैध रूपमा पास गराएको, नक्कली प्रमाणपत्र निर्माण गरी आर्थिक लेनदेनमा संलग्न भएको र परीक्षा तथा प्रमाणपत्र वितरण प्रक्रियामा गम्भीर घूसचलन गरेको उल्लेख छ।

संगठनले गोविन्द पौडेललाई तत्काल निलम्बन गर्न माग गर्दै सम्बन्धित निकायलाई कानुनी कारबाहीको माग गरेको छ। चेतावनी दिँदै भनेको छ, “यदि ढाकछोप गरियो वा दोषीलाई संरक्षण दिइयो भने संगठन अझ कठोर कदम चाल्न बाध्य हुनेछ।”

Advertisement

पौडेलमाथिको कारबाही सीटीईभीटीभित्र फैलिएको ‘शैक्षिक माफिया नेटवर्क’ विरुद्धको निरन्तर शृंखलाको भाग भएको अखिल (क्रान्तिकारी)को भनाइ छ। संगठनले केही समयअघि परिषद्का उपाध्यक्ष खगेन्द्र प्रसाद अधिकारीलाई समेत कार्यकक्षमै कालोमोसो दलेर कारबाही गरेको थियो।

संगठनले ‘सीटीईभीटी शुद्धिकरण अभियान’ अन्तर्गत भ्रष्टाचार, दलाली र अनियमितताविरुद्धको संघर्षलाई निरन्तरता दिने चेतावनी दिँदै, दोषीहरूलाई उन्मुक्ति नदिने अडान लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Advertisement