समाचार

एसपी राम प्रसाद घर्तीको प्रतिबद्धता: बाँकेमा जनसुरक्षा र सुशासनलाई नयाँ गति

२९ सोमबार २०८२

इरफान अलि 

बाँके, नेपालगञ्ज — हालै बाँके जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपी राम प्रसाद घर्तीले सोमबार पत्रकारहरूसँगको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा आफ्नो कार्यदिशा सार्वजनिक गरेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्पन्न कार्यक्रममा एसपी घर्तीले कानूनको शासन बलियो बनाउने, लागुऔषध नियन्त्रण तथा आपराधिक गतिविधिमाथि कडा निगरानी राख्ने प्रतिबद्धता व्यक्त गरे। साथै, प्रहरी सेवामा पारदर्शिता, जनमैत्रीता र सञ्चारकर्मीहरूसँग सहकार्यलाई प्राथमिकतामा राख्ने स्पष्ट गरे।

“म खुला ढोका नीतिमा विश्वास गर्छु। सञ्चारकर्मीहरू हाम्रो ऐना हुन्। तपाईंहरूको सुझाव, प्रश्न र आलोचना हाम्रो सुधारको आधार हो,” उनले भने।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका पदाधिकारी, विभिन्न सञ्चारमाध्यमका सम्पादक, पत्रकार तथा वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले प्रेस–प्रहरी सहकार्य अझ बलियो बनाउनु पर्नेमा जोड दिएका थिए।

सौहार्दपूर्ण वातावरणमा सम्पन्न कार्यक्रममा एसपी घर्तीको स्पष्ट कार्ययोजना र संवादमुखी शैलीले बाँकेमा जनसुरक्षा र सुशासनप्रति नयाँ आशा जागृत गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0