२९ सोमबार २०८२
बाँके, बैशाख २९ गते – पत्रकारमाथि भइरहेका आक्रमण, सञ्चारगृहमाथिको हस्तक्षेप र प्रेस स्वतन्त्रताको घट्दो अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रेस सेन्टर नेपाल बाँकेले आज सरकारलाई १० बुँदे ज्ञापनपत्र बुझाएको छ।
प्रेस सेन्टर नेपालको केन्द्रीय कार्यक्रमअनुसार बाँके जिल्ला समितिले जिल्ला प्रशासन कार्यालय बाँकेमार्फत सूचना तथा सञ्चार मन्त्रालय सिंहदरबार, र आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशलाई ज्ञापनपत्र पठाएको हो।
३२औँ विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा बुझाइएको ज्ञापनपत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी तयार पारिएका कानुनहरू खारेज गर्न र प्रेसमैत्री कानुन निर्माण गर्न सरकारसँग माग गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले ज्ञापनपत्र बुझ्दै सम्बन्धित मन्त्रालयमा पठाइने प्रतिबद्धता जनाएका थिए।
ज्ञापनपत्र बुझाउन प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सिराज खान, गजेन्द्र गुरुङ, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप वाग्ले, बाँके जिल्ला अध्यक्ष चन्द्र बोहरालगायतको टोली सहभागी थियो।
प्रेस सेन्टर नेपालले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाका लागि सरकारलाई तत्काल कदम चाल्न आग्रह गर्दै, यस्ता घटनाप्रति अब मौन नबस्ने चेतावनी दिएको छ।