२७ शनिबार २०८२
काठमाडौं – लोकप्रिय कलाकार आयुष खान अभिनीत नयाँ म्यूजिक भिडियो ‘रुनै जन्मेको रहेछु’ चाँडै दर्शकमाझ सार्वजनिक हुने भएको छ। बिग नेपाली फिल्म्सको प्रस्तुति रहेको यस गीतले भावनात्मक कथा बोल्ने संकेत दिइसकेको छ, जसले दर्शकको मन छुने अपेक्षा गरिएको छ।
गीतमा रविन भुसालको आवाज, शब्द तथा संगीत रहेको छ भने संगीत संयोजन बिशाल निरौलाले गरेका छन्। भिडियोलाई बिशाल नेपालीले निर्देशन गरेका हुन्।
भिडियोमा आयुष खानसँगै प्रमिता रजघाटानी, रेशम नेप्किङ लगायतका कलाकारहरूको सशक्त अभिनय समावेश गरिएको छ। छायांकन डिनेश पराजुली, सम्पादन तथा रङ संयोजन अमृत छापागाईं, र मेकअप पूनम चौधरीले सम्हालेका छन्।
‘रुनै जन्मेको रहेछु’ नामले नै जीवनका पीडादायक पक्ष उजागर गर्ने संकेत गरेको छ। भिडियो स्पोटिफाई, एप्पल म्यूजिक, युट्युब, टिकटक लगायतका डिजिटल प्लेटफर्महरूमा चाँडै सार्वजनिक गरिने तयारीमा रहेको छ।
बिग नेपाली फिल्म प्रोडक्सनको यो नयाँ प्रस्तुति दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइनेमा टिम आशावादी छ।