१३, साउन २०८३ बुधबार
बाँके, नेपालगञ्ज, — बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ निवासी १६ वर्षीया हुस्ना अन्सारी चार महिनादेखि सम्पर्कविहीन रहेको भन्दै उनका परिवारले तत्काल खोजी, उद्धार र न्यायको माग गरेका छन्। पीडित परिवारले प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको आरोप समेत लगाएको छ।

परिवारका अनुसार हुस्ना अन्सारी चैत २३ गते बिहान करिब ७:३० बजे एसईई परीक्षा दिन घरबाट निस्किएकी थिइन्। त्यसयता उनी परिवारको सम्पर्कमा नआएको र हालसम्म उनको अवस्था तथा स्थानबारे कुनै जानकारी प्राप्त हुन नसकेको बताइएको छ।
किशोरीका अभिभावकले जिल्ला प्रहरी कार्यालय बाँकेमा दिएको जाहेरीमा नेपालगञ्ज–१८ निवासी बरकत बेहना उर्फ छोटक्का, छेदन बेहना, रमजानीन बेहना र रिजवान बेहनामाथि किशोरीलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोप लगाएका छन्। परिवारले विभिन्न प्रलोभन र दबाब प्रयोग गरी किशोरीलाई आफ्नो नियन्त्रणमा लिएको आशंका व्यक्त गरेको छ।

बुधबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा किशोरीका बुबा समिम अन्सारी र आमा सरिफुन अन्सारीले घटना भएको चार महिना बितिसक्दा पनि अनुसन्धान प्रभावकारी ढंगले अघि नबढेको गुनासो गरे। उनीहरूले पटक–पटक जिल्ला प्रहरी कार्यालय धाउँदा पनि आफ्नो उजुरीमाथि अपेक्षित सुनुवाइ नभएको दाबी गरेका छन्।
पीडित परिवारले गृह मन्त्रालयमा समेत हुलाकमार्फत निवेदन पठाइसकेको जानकारी दिँदै घटनाको निष्पक्ष अनुसन्धान, आरोपितमाथि कानुनी कारबाही तथा किशोरीको सकुशल उद्धार गरी परिवारको जिम्मा लगाउन माग गरेको छ।
पत्रकार सम्मेलनमा पीडित परिवारले भावुक हुँदै भने, “चार महिना बितिसक्दा पनि छोरीको अवस्था थाहा पाउन सकेका छैनौं। सम्बन्धित निकायले गम्भीरतापूर्वक अनुसन्धान गरी हाम्रो छोरीलाई सकुशल फेला पारेर न्याय दिलाइदिनुपर्छ।”
यसबारे जिल्ला प्रहरी कार्यालय बाँकेको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी रहेको छ।

