२०, जेष्ठ २०८३ बुधबार
नेपालगञ्ज, बाँके – युवाहरूलाई सीपयुक्त, आत्मनिर्भर र स्वरोजगारतर्फ उन्मुख बनाउने उद्देश्यसहित जानकी गाउँपालिकामा एक महिने हल्का सवारी चालक (ड्राइभिङ्ग) तालिम औपचारिक रूपमा शुभारम्भ गरिएको छ।

सामाजिक विकास डिभिजन कार्यालय, नेपालगञ्ज–बाँकेको आयोजना तथा जानकी गाउँपालिका वडा नं. ३ को समन्वयमा सञ्चालन भएको तालिमको उद्घाटन लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले गर्नुभएको हो। कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय नेपालगञ्ज, बाँकेका कार्यालय प्रमुख ऋषिराज शर्मा विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने कार्यक्रमको अध्यक्षता जानकी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकुमार वर्माले गर्नुभएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य काफ्लेले बेरोजगारी न्यूनीकरण र आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिमहरू अत्यन्तै प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले सीप हासिल गरेका युवाहरूले रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने हैसियतसमेत बनाउन सक्ने धारणा व्यक्त गर्नुभयो।

विशेष अतिथि ऋषिराज शर्माले समाज र राष्ट्रको विकासका लागि युवाहरूलाई सीपसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न सहभागीहरूलाई प्रेरित गर्नुभयो।
एक महिनासम्म सञ्चालन हुने उक्त तालिममा सहभागीहरूले सवारी सञ्चालनसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गर्नेछन्। तालिमको प्राविधिक सहयोग शुभ स्वस्तिक ड्राइभिङ्ग स्कुल प्रा.लि. ले प्रदान गरेको छ।

स्थानीय तह, प्रदेश सरकार र सरोकारवाला निकायबीचको सहकार्यमा सञ्चालन भएको यो कार्यक्रमले युवाहरूको क्षमता अभिवृद्धि गर्दै स्वरोजगारका नयाँ सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ। “सीप सिकौं, स्वरोजगार बनौं” भन्ने अभियानलाई व्यवहारमा उतार्ने महत्वपूर्ण प्रयासका रूपमा यो तालिमलाई हेरिएको छ।

