२०, माघ २०८२ मगंलवार
बाँके, नेपालगन्ज – बाँके निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी चुलिँदै जाँदा नेपाली कम्युनिष्ट पार्टीले आफ्नो प्रचार–प्रसार अभियानलाई थप तीव्र बनाएको छ। सोही क्रममा आज नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५ मा पार्टीको निर्वाचन सम्पर्क कार्यालय भव्य रूपमा उद्घाटन गरिएको छ।

निर्वाचन सम्पर्क कार्यालय उद्घाटनपछि बाँके क्षेत्र नम्बर २ का उम्मेदवार दिपेन्द्र बिष्टको नेतृत्वमा पार्टीका नेता–कार्यकर्ताको टोलीले वडाका विभिन्न टोलमा घरदैलो अभियान सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेको थियो।

अभियानका क्रममा स्थानीय नागरिकका समस्या, गुनासा र सुझावहरू सुन्नुका साथै पार्टीका योजना र प्रतिबद्धताबारे जानकारी गराइएको थियो।

“जनताको सुखदुःखमा तारा चिह्न” र “विकास र समृद्धिको आधार, कम्युनिष्ट सरकार” जस्ता नारासहित टोली टोल–टोलमा पुग्दै जनसमर्थन जुटाउन सक्रिय देखिएको छ।

उम्मेदवार दिपेन्द्र बिष्टले जनताको विश्वास र सहभागिताबाट मात्र क्षेत्रको दिगो विकास सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।


