१७,माघ २०८२ शनिबार
एलिनाको स्वरमा झुम्यो प्रदर्शनी स्थल, आज दुर्गेश थापाको प्रस्तुति
बाँके, नेपालगन्ज – नेपालगन्जमा जारी आठौँ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सवमा चर्चित गायिका एलिना चौहानको सांगीतिक प्रस्तुति मुख्य आकर्षण बनेको छ। एलिनाको दमदार स्वर र चर्चित गीतहरूले महोत्सव स्थल दर्शकले खचाखच भरिएको थियो।

विशेषगरी ‘यस्तै यस्तै ल्याङ भएर पेस्तोल किन्देको’ बोलको लोकप्रिय गीत प्रस्तुत भएपछि दर्शकहरू उत्साहमा नाचगान गर्दै रमाएका थिए। गीतको तालमा युवादर्शकहरू उफ्रिँदै, ताली बजाउँदै र गुनगुनाउँदै महोत्सवको माहोललाई झनै उत्सवमय बनाएका थिए।

एलिनाले ‘तिमीले धोका दियौ भने म कसम कट्टा हान्दिन्छु’, ‘धोकेबाज हौ तिमी’, ‘बिष पिउन मन लाग्छ किन घुटुघुटु’, ‘रुवाउनेहरू हजार भए’, ‘ए जिन्दगी कस्तो जिन्दगी’, ‘तिमीसँग नजर जुझाई’, ‘भाग्यमा खोट छ’ लगायतका चर्चित गीतहरू प्रस्तुत गर्दा दर्शक भावनामा बग्दै रमाएका थिए।
महोत्सवमा एलिनासँगै गायक सन्दीप सेन्चुरी, डान्सर धर्ति विष्ट मगर, लभ्ली विष्ट मगर, यमुना भण्डारी लगायत कलाकारहरूको पनि बेजोड प्रस्तुति रहेको थियो।

आयोजकका अनुसार महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको निरन्तर प्रस्तुति रहनेछ।
पुष ३० गतेदेखि सुरु भएको आठौँ प्रादेशिक घरेलु कृषि, सूचना प्रविधि, पर्यटन तथा औद्योगिक प्रदर्शनी एवं व्यापार महोत्सव २०८२ नेपाल घरेलु तथा साना उद्योग महासंघ तथा महिला उद्यमी समितिको जिल्ला शाखा बाँकेको आयोजनामा तथा नेपालगञ्ज उपमहानगरपालिका समितिको सह–आयोजनामा सञ्चालन भइरहेको छ।
आयोजक मूल समितिका संयोजक समर बहादुर खत्रीका अनुसार महोत्सवमा हरेक दिन थप उत्साह बढ्दै गएको छ। महोत्सवमा चर्चित गायक तथा मोडल दुर्गेश थापा सहित दर्जनभन्दा बढी राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने उहाँले जानकारी दिनुभयो। साथै लन्डन ब्रिज, फिस टनेल, विभिन्न व्यापारिक स्टल तथा थारु गाउँ अवलोकनको व्यवस्था गरिएको छ।
महोत्सवको साँस्कृतिक संयोजक मिना डाँगीका अनुसार १७ गते शनिबार लोकप्रिय गायक दुर्गेश थापा, गायक कुलेन्द्र परियार तथा ¥यापर भि–योमाको बेजोड प्रस्तुति रहनेछ।

