१३, कार्तिक २०८२ बिहिवार
अयुष खान
रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका –५ किलाचौरबाट सुलिचौरतर्फ आउँदै गरेको लु २ च ८०१५ नम्बरको जिप हिजो साँझ करिब ८:४५ बजे सुनिलस्मृति गाउँपालिका–४ धुलिओडार क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। जिप करिब ३०० मिटर तल खोलामा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको र तीन जना सवार घाइते भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त लगत्तै लुङ्ग्री गाउँपालिका अध्यक्ष मणिराम वुढाथोकी स्वयं उद्धार टोली सहित घटनास्थल पुगेका थिए।
उद्धार कार्यमा इ.प्र.का. सुलिचौर रोल्पाका कार्यालय प्रमुख अनिल कुमार चौधरीको नेतृत्वमा नेपाल प्रहरीको टोली, सुनिलस्मृति गाउँपालिका नगर प्रहरी इन्चार्ज चेतमान विष्टको नेतृत्वमा नगर प्रहरी टिम र स्थानीय युवाहरू सक्रिय रूपमा खटिएका थिए।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीको संयुक्त प्रयासमा तीनै जना घाइतेहरूलाई सकुशल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। तीमध्ये एक बालक गम्भीर घाइते भएको अनुमान गरिएको छ।

मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारजनप्रति गहिरो समवेदना, र घाइतेहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
यस घटनाले पुनः एकपटक दुर्गम सडकहरूको जीर्ण अवस्था र सवारी सुरक्षाप्रति ध्यानाकर्षण गराएको छ।

