०३ कार्तिक २०८२ सोमबार
काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी हाल युक्रेनमा जारी युद्धमा रूसको सेनामा सक्रिय रहँदै सेक्सन कमाण्डरको जिम्मेवारी सम्हालेका छन्।
डाइमण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, “जनयुद्धमा देखेका धेरै सपना अधुरो रहँदा, परिवार पाल्न बाध्य भएर म रूस गएका हुँ।” उनी हाल जुनियर सर्जेन्ट (सेक्सन सह–कमाण्डर) बाट बढुवा भएर सर्जेन्ट (सेक्सन कमाण्डर) बनेका हुन्।

उनी भन्छन्, “भिषण युद्धको बीचमा जीवनको कुनै ग्यारेन्टी छैन, तर युद्धकालीन जिम्मेवारी पूरा गर्नै पर्छ।” उनका अनुसार, रसियन सेनामा भर्ना हुनुपर्ने बाध्यता परिवारको पालनपोषणकै लागि भएको हो।
पूर्वमाओवादी लडाकुका रूपमा लामो समय जनयुद्धमा सक्रिय डाइमण्ड अहिले रूसको अग्रमोर्चामा खटिएका छन् र प्राथमिक आक्रमण (प्राइमरी एसल्ट) सेक्सनको नेतृत्व गरिरहेका छन्। उनका निर्णयले रोजगारी अभाव र पूर्वमाओवादी अनुभव भएका नेपाली युवाहरूको अवस्था झल्काएको छ।

डाइमण्ड र उनकी पत्नी प्रेरणा शेर्पाली दुवै माओवादी लडाकु हुन्। माओवादी फुटेपछि डाइमण्ड विप्लव नेतृत्वको नेकपाको म्याग्दी सेक्रेटरी बनेका थिए र त्यसपछि रसियन सेनामा भर्ती भएका हुन्।
उनले भनेका छन्, “राजनीतिक परिवर्तनको लागि दशकौं योगदान गरेका हजारौं योद्धा आज परिवार पाल्न विदेशिन बाध्य छन्।”

