०२ कार्तिक २०८२ आइतबार
बाँके, नेपालगन्ज – कास्कीको मणिपाल शिक्षण अस्पताल, गण्डकी शिक्षण अस्पताल, मोरङको विराट मेडिकल कलेज टिचिङ अस्पताल लगायत देशभरका विभिन्न निजी शिक्षण अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरू चर्को श्रमशोषणविरुद्ध र पारिश्रमिक वृद्धि सहितका माग राखी एक सातादेखि आन्दोलनरत रहेका छन्।

तर, आन्दोलन सुरु भएको लामो समय बित्दासमेत सरकारले कुनै ठोस पहल नगरेको भन्दै सम्बद्ध संगठनले सरकारको लाचारीपनप्रति कडा आपत्ति जनाएको छ।
संगठनका अध्यक्ष विरेन्द्र शाहले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ,
“नेपाल सरकारले २०८१ मंसिरमा निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक सरकारी तहअनुसार लागू गर्ने निर्णय गरे पनि त्यो कार्यान्वयन हुन नसक्नु दुःखद र गैरजिम्मेवार कदम हो।”
उनले मेडिकल माफियाहरूको अटेरी र दादागिरी रोक्न सरकारलाई आग्रह गर्दै तत्काल आन्दोलनरत नर्सहरूको माग सम्बोधन गर्न चेतावनी दिएका छन्।
वक्तव्यमा भनिएको छ, “यदि सरकार र सम्बन्धित निकायले तत्काल मागहरू सम्बोधन नगरे, निजी मेडिकल माफियाको दादागिरी र सरकारको मौनताविरुद्ध सशक्त आन्दोलन छेडिनेछ।”

