२९, असोज २०८२ बुधबार
नेपालगञ्ज, बाँके – हालैको जेन्जी आन्दोलनपश्चात् देशलाई अस्थिर पार्ने नियतले गरिएको झूठा प्रचारविरुद्ध बाँकेका वाइसीएल नेपाल र अनेरास्ववियू (क्रान्तिकारी) ले संयुक्त रूपमा कडा आपत्ति जनाउँदै कानूनी कारबाहीको माग गरेका छन्।

नेपालगञ्जस्थित जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा बुझाइएको ज्ञापनपत्रमा पूर्व प्रहरी एआइजी देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेले नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध “घर जलाईदा अघि दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइयो” भन्नेजस्ता झूठा, तथ्यहीन र कपोकल्पित आरोप लगाएको भन्दै गम्भीर आपत्ति जनाइएको छ।

ज्ञापनपत्रमा यस्तो आरोप राजनीतिक प्रतिशोधका आधारमा गरिएको भ्रामक प्रचार भएको स्पष्ट गर्दै सम्बन्धित व्यक्तिमाथि साइबर अपराध अन्तर्गत कानूनी अनुसन्धान र कारबाही गर्न माग गरिएको छ।
त्यससँगै, वाइसीएल र अनेरास्ववियू (क्रान्तिकारी)ले “भ्रम फैलाउनेमाथि कारबाहीको सट्टा सत्यको पक्षमा बोल्ने युवामाथि दमन र पक्राऊ प्रयास हुनु निन्दनीय र अन्यायपूर्ण” भएको बताएका छन्।

संयुक्त ज्ञापनपत्रमा भनिएको छ, “यदि यस्ता अन्यायपूर्ण गतिविधि तुरुन्त रोकिएनन् भने युवा–विद्यार्थी संगठनहरू संयुक्त रूपमा आन्दोलन र प्रतिरोधका कार्यक्रमहरूमा उत्रिन बाध्य हुनेछन्।”
ज्ञापनपत्रमा हस्ताक्षर गर्नेहरूमा अनेरास्ववियू (क्रान्तिकारी) बाँकेका अध्यक्ष सुनिल बटला र वाइसीएल नेपाल बाँकेका इन्चार्ज अकाश कार्की रहेका छन्।

