१३ असोज २०८२ सोमबार
शारजाह – नेपालले पहिलो पटक पूर्ण टेष्ट मान्यता प्राप्त टोलीसँग खेलेको टी–२० आई सिरिजमा ऐतिहासिक सफलता हात पारेको छ। सोमबार शारजाहमा भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै नेपालले तीन खेलको सिरिज १ खेल अगावै जितेको हो।
नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा समेटियो। तीन वर्षपछि टोलीमा फर्किएका मोहम्मद आदिल आलमले ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे भने कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी, करण केसी र ललित राजवंशीले समान एक–एक विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रन बनाएको थियो। एक समय ४३ रनमा ३ विकेट गुमाएर दबाबमा परेको नेपाललाई सन्दीप जोरा र आशिफ शेखले १०० रनको साझेदारी गर्दै उकासे। जोराले ६३ रन बनाए भने शेख ६८ रनमा अविजित रहे। दुवैले पूर्ण टेष्ट टोलीविरुद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्ने इतिहास रचे।
नेपालको जितसँगै सिरिज २–० को अवस्थामा पुगेर नेपाली क्रिकेटले अर्को कीर्तिमान थपेको छ। सिरिजको अन्तिम खेल मंगलबार हुनेछ।