जीवनशैली, मनोरञ्जन, समाचार, समाचार

नेपालगञ्जमा मौलिक तीज गीत प्रतियोगिता सम्पन्न, धना केसी प्रथम

०६ भदौ २०८२ शुक्रबार 

बाँके, नेपालगन्ज – ‘तीजको मौलिकता, हाम्रो पहिचान’ भन्ने नारासहित क्रियाशिल पत्रकार महिला बाँकेको आयोजनामा नेपालगन्जमा मौलिक तीज गीत प्रतियोगिता सम्पन्न भएको छ। सहभागीहरूले यस्ता कार्यक्रमहरूले संस्कृतिको संरक्षणसँगै एकता र सद्भावलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रतियोगितामा धना केसी प्रथम, शान्ति सुनार द्वितीय, अनिता विश्वकर्मा तृतीय र विद्युतमा रैका सान्त्वना विजेता बनेका छन्। विजेताहरूलाई क्रमशः ३ हजार, २ हजार, १५ सय र १ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजक समितिले जानकारी दिएको छ।

कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषी चौलागाईले गर्नुभयो। उहाँले तीज पर्वलाई पार्टी प्यालेसमा मात्र सीमित नगरी मौलिकता जोगाउने यस्ता प्रयास उदाहरणीय भएको धारणा राख्नुभयो। कार्यक्रममा प्रमुख अतिथि चौलागाईसँगै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरीले पनि तीज गीत प्रतियोगिताले आपसी आत्मीयता र सामूहिक सद्भाव झल्काउने बताए।

कार्यक्रम क्रियाशिल पत्रकार महिला बाँकेकी अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष अक्षरी पोखेल, अकोराबका केन्द्रीय सदस्य आरिफ अन्सारी, नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, संचारिक समूह लुम्बिनी प्रदेशकी उपाध्यक्ष रुपा गहतराज, नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाह, महिला उद्यमी संघ नेपाल बाँकेकी अध्यक्ष रेवती सिंह, नेपाल प्रेस युनियन बाँकेकी अध्यक्ष प्रिया स्मृति ढकाललगायत अतिथिहरूले तीजको मौलिकता जगेर्ना गर्न यस्ता गतिविधि महत्त्वपूर्ण हुने धारणा राखे।

Advertisement

त्यस्तै कार्यक्रममा प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन वली, सञ्चारिक समूह बाँकेकी अध्यक्ष पवित्रा परियार, मुख्य प्रायोजक थिंक कन्सल्टेन्सीका प्रतिनिधि इन्द्रमणी चापागाई र अभिशेष रेग्मी, जेडी कलेक्सनकी रिचा लुइटेल, श्री राजा खान (विइङ ह्युम्यान संस्था प्रतिनिधि), प्रेस सेन्टर नेपाल, नेपालगन्ज नगर अध्यक्ष अरसद अली रङ्गरेज (अरसद) लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

समग्रमा ५७ जना सहभागीको उपस्थितिमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य क्रियाशिल पत्रकार महिला बाँकेकी उपाध्यक्ष विमला चौधरीले दिनुभएको थियो भने सञ्चालन सचिव निशु जोशीले गर्नुभएको थियो। सचिव जोशीले नै पुरस्कार वितरणसम्बन्धी जानकारी दिनुभएको हो।

Advertisement

अन्त्यमा, अध्यक्ष साबित्री गिरीले तीजको मौलिकता जोगाउने खालका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै पत्रकार महिलाको क्षमता अभिवृद्धिका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गरिने पनि बताउनुभयो।

कार्यक्रमलाई थिंक एजुकेसनल कन्सल्टेन्सीले मुख्य प्रायोजन गरेको थियो भने शिखर प्लाई उद्योग, सिने रोयल नेपालगन्ज, नरैनापुर गाउँपालिका, महिला उद्यमी संघ नेपाल बाँके, नेपालगन्ज डिजिटल प्रिन्टर्स, जेडी कलेक्सन, नन्कुराम होलिराम कपडा थोक पसल र विइङ ह्युम्यान संस्थाले सहकार्य गरेका थिए। कार्यक्रममा प्रमुख तथा विशिष्ट अतिथि, सहयोगी संस्था र व्यक्तिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0