समाचार, जीवनशैली, शिक्षा, समाचार

दाइजो उन्मूलनको प्रतिवद्धतासहित ओल्मा काउन्सिल नेपालको पहिलो जिल्ला अधिवेशन नेपालगञ्जमा सम्पन्न

३१ श्रावण २०८२ शनिबार 

बाँके, नेपालगञ्ज – मुस्लिम समुदायको राष्ट्रिय संस्था ओल्मा काउन्सिल नेपालले पहिलो पटक जिल्ला स्तरीय अधिवेशनसँगै दाइजो प्रथा उन्मूलन अभियान नेपालगञ्जमा सम्पन्न गरेको छ।

अधिवेशनले दाइजो अन्त्यलाई प्रमुख एजेन्डा बनाएर सामाजिक सुधारका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने निर्णय गरेको छ।

नेपालगञ्ज–७ मा रहेको पार्टी जोया प्यालेसमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश काउन्सिलका उपाध्यक्ष मुफ्ती केफूलबाराले विपन्न परिवारका पाँच युवतीको विवाह वर्षैभरि गराउने निर्णय पनि भएको जानकारी दिनुभयो।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जसपा महासचिव तथा पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले दाइजो संस्कृतिले सम्पूर्ण नेपाली समाजलाई कमजोर बनाएको उल्लेख गर्दै यसलाई दीर्घकालीन सामाजिक अभियानमार्फत अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो।

विशिष्ट अतिथि तथा उपमेयर कमरुद्दिन राईले सेवानिवृत्त शिक्षकलाई संस्थामा सक्रिय सदस्यका रूपमा सहभागी गराउन सुझाव दिनुभयो र स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोगको आश्वासन दिनुभयो।

Advertisement

पूर्वमन्त्री सुरेन्द्र हमालले ओल्मा काउन्सिल नेपाल २५ जिल्लामा प्रभावकारी गतिविधि गर्दै आएको बताउँदै यसलाई अझ सशक्त बनाउनुपर्ने धारणा राख्नुभयो।

नेपाल मुस्लिम इत्तेहाद संगठनका अध्यक्ष मोहम्मद हारुन कादरीले दाइजो विरोधी अभियानलाई मुस्लिम समुदायको सामाजिक–सांस्कृतिक सुधारको ऐतिहासिक मोडको रूपमा व्याख्या गर्नुभयो।

ओल्मा काउन्सिलका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मजहरीले मदरसामा मौलाना तथा कारी–हाफिजहरूको नियुक्तिका लागि नेपाल सरकारसँग पहल गर्ने प्रतिवद्धता जनाउनुभयो।

Advertisement

कार्यक्रमको अध्यक्षता गर्दै मौलाना नसिरुदिन अन्सारीले सहभागीलाई धन्यवाद दिँदै सामाजिक सुधारका लागि निरन्तर संघर्ष गर्ने प्रतिज्ञा गर्नुभयो।

अधिवेशनमा धार्मिक अगुवा, सामाजिक अभियन्ता, लुम्बिनी प्रदेश काउन्सिलका पदाधिकारी, बुद्धिजीवी, व्यापारी र स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रह्यो।

सामूहिक प्रतिबद्धतासहित अधिवेशनले दाइजो प्रथा अन्त्यलाई सामाजिक अभियानका रूपमा अघि बढाउने र संस्थागत संरचना थप मजबुत बनाउने निष्कर्षमा पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
0