१२ साउन २०८२ सोमबार
काठमाडौं, – वैदेशिक रोजगारीमा गएका लाखौं नेपाली युवाहरूको जीवनको यथार्थ कथा बोकेको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को भावुक गीत ‘आमा’ सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गरिएको यो गीतले विदेशी भूमिमा पसिना बगाइरहेका युवाहरूको वेदना, पीडा र आमाको माया प्रतिको तडपलाई गहिरो भावनात्मक प्रस्तुतिमा उतारेको छ।
गीतमा गायक रामचन्द्र काफ्लेको मार्मिक स्वर, अमर न्यौपानेको गहिरो शब्द र काफ्लेकै सङ्गीतले श्रोताको मन छुनेगरी कथा बोकेको छ। किरण तुलाधरको एरेञ्ज र मिक्सिङ–मास्टरिङले गीतलाई थप सशक्त बनाएको छ।
‘रियाल रिङ्गेट’ नाम नै कतार, साउदी अरेबिया र मलेसियामा काम गर्ने नेपालीहरूको श्रमजीवी जीवनतर्फ संकेत गर्छ। चलचित्रले वैदेशिक श्रममा रहेका नेपालीहरूको संघर्ष, परिवारको वियोग र पीडाको यथार्थ चित्रण गर्ने उद्देश्य लिएको छ।
चलचित्रमा प्रमोद चौलागाईं र निता ढुंगाना प्रमुख भूमिकामा छन्। साथमा छुल्ठिम डोल्मा गुरुङ, रविन्द्र खड्का, रामचन्द्र अधिकारी, सीमा केसीलगायत दर्जनौँ कलाकारको अभिनय छ। कथा प्रदीप भारद्वाजले लेखेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठ, छायांकन हरि घले, सम्पादन विपिन मल्लले गरेका छन्।
नेपालका विभिन्न स्थान र भारतको राजस्थानमा छायाङ्कन गरिएको यो चलचित्र श्रावण १६ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ। वितरण काफिया फिल्म्सले गर्नेछ।
‘आमा’ गीत र चलचित्र ‘रियाल रिङ्गेट’ ले वैदेशिक रोजगारीमा रहेका नेपालीको कथा बोल्ने हुँदा दर्शकको मन छुन सफल हुनेमा निर्माण पक्ष पूर्ण विश्वासमा देखिएको छ।