२७ असार २०८२ शुक्रबार
बाँके, नेपालगन्ज – झण्डै पाँच दशकदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय भई समाजसेवामा समर्पित नेता तथा पूर्व मनिकापुर गा.वि.स अध्यक्ष श्री पदम बहादुर अर्याल आज जनता समाजवादी पार्टी, नेपाल (जसपा)मा औपचारिक प्रवेश गर्नुभएको छ।
काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित विशेष कार्यक्रममा अर्याललाई पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र केन्द्रीय महासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्माले खादा र अबिरका साथ स्वागत गर्दै पार्टी सदस्यता प्रदान गर्नुभएको हो।
व्यवसायिक क्षेत्रमा समेत कुशल पहिचान बनाएका अर्यालले २०५४ सालको स्थानिय निर्वाचनमा नेकपा एमालेबाट मनिकापुर गा.वि.स अध्यक्षमा विजयी भई जनसेवामा उल्लेखनीय योगदान पुर्याउनु भएको थियो। अब जसपाबाट जनताको पक्षमा अझ सशक्त भूमिका निर्वाह गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ।
पार्टीमा उहाँको प्रवेशलाई सशक्त नेतृत्वको रुपमा हेरिएको छ। कार्यक्रमका वक्ताहरूले अर्यालको आगमनले लुम्बिनी प्रदेशमा पार्टीको संगठनात्मक बल थपिएको धारणा राखेका थिए।