०८ असार २०८२ आइतबार
काठमाडौँ — इरान र इजरायलबीचको तनाव अब अन्तर्राष्ट्रिय सङ्घर्षमा रूपान्तरण हुँदै गएको देखिएको छ। पछिल्लाे घटनाक्रममा अमेरिकी सेनाले प्रत्यक्ष हस्तक्षेप गर्दै इरानका तीन अत्यन्तै संवेदनशील आणविक स्थलहरू — इस्फहान, नातान्ज र फोर्डोमा लक्षित हवाई आक्रमण गरेको छ।
इरानी सरकारी सञ्चारमाध्यमहरूले आक्रमणको पुष्टि गरेका छन् भने अमेरिकी पक्षले पनि यसबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ। रिपोर्टहरू अनुसार, अत्याधुनिक मिसाइल र ड्रोन प्रयोग गरेर आक्रमण गरिएको हो।
इरानले भने अमेरिकालाई कडा जवाफ दिँदै राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति चेतावनी जारी गरेको छ। सरकारी प्रवक्ताले भनेका छन् — ‘सुरुआत तिमीले गर्यौ, अन्त्य हामी गर्छौं।’
आक्रमणको निहितार्थ
यो कारबाही अमेरिका र इजरायलबीचको संयुक्त रणनीतिक समझदारीको परिणाम भएको बताइएको छ। उनीहरूको मुख्य उद्देश्य इरानलाई आणविक हतियार निर्माण गर्न नदिनु रहेको विश्लेषण छ। पश्चिमी देशहरू आशङ्कित छन् कि यदि इरान आणविक शक्ति बन्यो भने, त्यसले क्षेत्रीय स्थायित्व र शक्ति सन्तुलनमा गम्भीर असर पार्न सक्छ।
इरानको तयारी
इरानी मिडिया अनुसार, अमेरिकाको सम्भावित आक्रमणलाई ध्यानमा राख्दै मार्च २०२५ मै केही महत्वपूर्ण युरेनियम भण्डार र उपकरणहरू अन्य सुरक्षित स्थानमा सारिएको थियो। यद्यपि, आक्रमणले आणविक कार्यक्रमको संरचना र इरानको रक्षा रणनीतिमा ठूलो असर पारेको छ।
ह्वाइट हाउसको प्रतिक्रिया
ह्वाइट हाउसले इस्फहान, नातान्ज र फोर्डोमा अमेरिकी सैन्य कारबाही भएको पुष्टि गर्दै राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री नेतान्याहूसँग समन्वयमा यो कदम चालेको जनाएको छ। ट्रम्पले चेतावनी स्वरूप भनेका छन् — ‘इरानले आक्रमण जारी राखे पुनः कठोर प्रतिकार हुनेछ।’