०७ असार २०८२ शनिबार १०:३७
बाँके, नेपालगञ्ज – नेपाल बुद्धिजीवी संगठन नेपाल बाँकेको दोस्रो जिल्ला सम्मेलनबाट कृष्ण प्रसाद अधिकारीलाई नयाँ जिल्ला अध्यक्षमा चयन गरिएको छ। जनवर्गीय संगठनको रूपमा रहेको तथा माओवादी केन्द्र निकट यो संगठनले २१ सदस्यीय जिल्ला समिति गठन गरेको हो।
नवगठित समितिमा बरिष्ठ उपाध्यक्षमा नारद पुरी, महिला उपाध्यक्षमा चरित्रा शाह, उपाध्यक्षमा बासु शर्मा, सचिवमा मुना हमाल, सह–सचिवमा अजय कुमार वैश्य, ओमप्रकाश शर्मा र शेरबहादुर विक चयन भएका छन्। कोषाध्यक्षमा प्रमिला शाही रहनुभएको छ।
समितिको गठनबारे जानकारी दिँदै माओवादी केन्द्रका जिल्ला समन्वय समितिका अध्यक्ष नरेन्द्र पाण्डे ‘जेम्स’ले बुद्धिजीवी संगठन पार्टीकै सल्लाहकार संगठन भएकाले पार्टीभित्रका समस्यासँगै बाह्य मुद्धामा पनि बहस र छलफल गरी सुझाव दिने महत्त्वपूर्ण जिम्मेवारी यस संगठनको हुने बताए।
सम्मेलन नेपाल बुद्धिजीवी संगठनका उपाध्यक्ष नारद पुरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा केन्द्रका सदस्य तथा प्रदेश माओवादी केन्द्रका नेता एवम् खजुरा गाउँपालिकाका अध्यक्ष राजकुमार विकलगायत नेताहरूको उपस्थिति रहेको थियो।
नवनियुक्त अध्यक्ष कृष्ण प्रसाद अधिकारीले संगठनलाई विचार, चिन्तन र सुझावमार्फत प्रभावशाली बनाउँदै पार्टीका लागि भरपर्दो संगठन बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।