व्यापार

‘जाउँ है पोखरा’ अभियान नेपालगञ्जमा, आन्तरिक पर्यटन चलायमान बनाउँदै

३१, जेष्ठ २०८२ शनिबार 

बाँके, नेपालगञ्ज – पोखराको आन्तरिक पर्यटन प्रवर्द्धन गर्न होटल संघ पोखरा नेपालले दुई दशकअघि सुरु गरेको ‘जाउँ है पोखरा’ अभियान अब नेपालगञ्जसम्म पुगेको छ । अभियानको उद्देश्य देशका प्रमुख सहरहरूमा पुगेर नेपाली पर्यटकलाई पोखरा भ्रमणका लागि प्रेरित गर्नु हो ।

कहिल्यै विदेशी पर्यटकमा मात्र केन्द्रित रहँदै आएको पर्यटन क्षेत्र अब नेपाली नागरिकले पनि पर्यटकको रुपमा देश घुम्न सक्छन् भन्ने सन्देश फैलाउँदै होटल संघ पोखराले २२ वर्षअघि सुरु गरेको अभियानले आन्तरिक पर्यटनमा क्रान्तिकारी योगदान पुर्‍याउँदै आएको छ ।

पोखरा अहिले नेपाली आन्तरिक पर्यटकको प्रमुख गन्तव्य बनेको छ । अभियान अन्तर्गत पोखरा पर्यटन व्यवसायीको टोली पाल्पा, बुटवल हुँदै नेपालगञ्ज आइपुगेको छ । नेपालगञ्जमा आयोजित अन्तरक्रियामा सहभागी स्थानीय व्यवसायी र पत्रकारहरूले पोखराको ‘जाउँ है’ अभियानजस्तै नेपालगञ्जलाई पनि पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न विशेष प्याकेज र सहकार्यको खाँचो औँल्याएका छन् ।

Advertisement

होटल संघ नेपालका केन्द्रीय सदस्य भरत पराजुलीका अनुसार, यस्तो अभियानले अफ सिजनमा पर्यटन व्यवसायीको आम्दानी स्थिर राख्न सहयोग पुगेको छ ।

लुम्बिनी प्रदेश सांसद कृष्णा केसीले अन्तर्राष्ट्रिय विमानस्थल बनेपनि उडानको संख्या न्यून भएको कारण पर्याप्त पर्यटक नआएको र अब निजी क्षेत्रको सक्रियता आवश्यक रहेको बताइन् ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण भलसुबेदीले ‘जाउँ है पोखरा’ अभियानले पोखरा र देशका प्रमुख शहरहरूबीच दोहोरो पर्यटन सम्बन्ध विस्तार गरेको बताए । नेपालगञ्जपछि सुर्खेत र दाङमा समेत अभियान सञ्चालन गरिने छ भने भारत र चीनका सिमावर्ती शहरहरूमा पनि ‘चलौ पोखरा’ र ‘चाउला पोखरा’ अभियान सञ्चालन गरिने जनाइएको छ ।

Advertisement

पोखरामा हाल १,२०० भन्दा बढी होटल सञ्चालनमा छन्, जसले दैनिक ५० हजारभन्दा बढी पर्यटकलाई सेवा दिनसक्ने क्षमता राख्छन् । अभियान अन्तर्गत पोखरा जाने पर्यटकले विभिन्न छुट प्याकेजको समेत लाभ उठाउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0