१८, जेष्ठ २०८२ आइतबार
काठमाडौँ, जेठ १७ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कीर्तिपुरलाई सदैव परिवर्तनको अग्रपंक्तिमा रहेको शहरको रूपमा स्मरण गर्दै यो क्षेत्रमा जनक्रान्ति र जनप्रगतिमा महत्वपूर्ण योगदान दिएको बताएका छन्।
शनिबार कीर्तिपुरमा आयोजित माओवादी केन्द्र नगर समितिको पिकनिक तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू गणतान्त्रिक नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुमा कीर्तिपुरको निर्णायक योगदान रहेको स्मरण गरे। “कीर्तिपुर नजितेसम्म न त चित्त बुझ्छ, न त मनमा शान्ति हुन्छ,” उनले भने, “यसपटक जित्न सकेनौं तर राम्रो प्रगति गर्यौं। अब नयाँ सुरुआत हुन्छ।”
‘दलाल–बिचौलियाले सरकार हटाए’
अध्यक्ष प्रचण्डले माओवादी केन्द्र सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा कडा कदम चालेको भन्दै त्यसकै कारण दलाल र बिचौलिया शक्तिहरू आक्रोशित बनेको बताए। “हामी जनताको पक्षमा काम गथ्र्यौं, तर त्यसले बिचौलियालाई चित्त बुझेन,” उनले भने, “अपारदर्शी षड्यन्त्र गरेर हामीलाई सरकारबाट हटाइयो।”
सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रले आत्मसमीक्षा गर्दै जनसङ्गठनलाई पुनःजोड्ने अभियान थालेको जानकारी दिँदै उनले हुलाकी मार्गदेखि मध्यपहाडी लोकमार्गसम्म देशव्यापी अभियान सञ्चालन भइरहेको उल्लेख गरे।
‘माओवादीमा जनताको पुनः विश्वास बढ्दै’
प्रचण्डले जनतामाझ पार्टी एकाकार भएको दाबी गर्दै भने, “हामी जनतासँगै खायौं, सँगै बस्यौं, सहिद र बेपत्ता परिवारसँग आत्मीयता बनायौं। जनताले फेरि माओवादीमा भरोसा गर्न थालेका छन्।” उनका अनुसार तराई क्षेत्रमा मात्रै करिब एक करोड जनतासँग प्रत्यक्ष संवाद भइसकेको छ।
उपत्यका जागरण र संस्कृति–समाजवादको जोड
अध्यक्ष प्रचण्डले जेठ २० बाट ‘उपत्यका जागरण अभियान’ सुरु हुने र नेवार समुदायको सांस्कृतिक चेतनालाई समाजवादी रुपान्तरणसँग जोड्दै अभियानलाई जेठ २१ देखि अघि सारिएको जानकारी दिए। “समाजवादको भ्रूण नेवार संस्कृतिमा छ,” उनले भने, “समाजवादको खोज हाम्रो संस्कृति, जातीयता र परम्परामै गर्नुपर्छ।”
‘कांग्रेस–एमालेको रोग सरुवा हो, अब सहकार्य हुँदैन’
अध्यक्ष प्रचण्डले कांग्रेस र एमालेसँग सहकार्य गर्दा उनीहरूको ‘राजनीतिक रोग’ माओवादीमा सरेको जस्तो देखिएको टिप्पणी गर्दै अब ती दलहरूसँग सहकार्य नहुने स्पष्ट गरे। “उनीहरूको रोग सरुवा रोग हो, अब त्यसको उपचार जनताको घर–घरमा गएर गर्छौं,” उनले भने।
‘जनताको असली प्रतिनिधि माओवादी केन्द्र’
उनले माओवादी केन्द्रलाई जनताको असली प्रतिनिधिका रूपमा पुनः स्थापित गर्ने दृढता व्यक्त गर्दै पार्टी आन्तरिक रूपमा व्यवहारिक रूपान्तरणको दिशामा अघि बढेको उल्लेख गरे। “हामी व्यवहारमै बदलिएर जनताको पार्टी बन्नेछौं,” उनले प्रतिबद्धता जनाए।