१६ साउन २०८२ शुक्रबार
कोहलपुर, बाँके — योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले देशव्यापी २ महिने श्रम तथा उत्पादन अभियान को सुरुवात बाँकेको कोहलपुरबाट गरेको छ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेले कोहलपुर–११ स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान परिसरमा वृक्षारोपण र सरसफाइ गरेर अभियानको औपचारिक शुभारम्भ गरेका हुन्।
कार्यक्रममा वाईसीएलका नेता लालबहादुर खड्काले दुई महिने अभियान अन्तर्गत समाजिक काम, जनसेवा, सुशासन र उत्पादनसँग सम्बन्धित गतिविधिहरू सञ्चालन गरिने जानकारी दिए।
शुभारम्भ कार्यक्रममा बोल्दै नेता न्यौपानेले वाईसीएलले अब युवाहरूबीच आशा जगाउने, सुशासनको नेतृत्व गर्ने र रचनात्मक अभियानमार्फत सामाजिक परिवर्तनको एजेण्डा अघि बढाउने जिम्मेवारी लिएको बताए।
उनले वाईसीएललाई देशभरि युवाहरूको विश्वासको केन्द्रको रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा माओवादी केन्द्रका प्रदेश समिति सदस्य सुरज जागा, कोहलपुर नगर कमिटी अध्यक्ष वलबहादुर खड्का, वाईसीएलका केन्द्रीय सचिव दीपक मल्ल, सचिवालय सदस्य तथा बाँके इञ्चार्ज आकाश कार्की, प्रमिला चौधरी, सबिना सिंह, कोहलपुर अध्यक्ष विजय परियारलगायत दर्जनौं नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।