३१, बैशाख २०८२
इरफान अलि (अरसद)
दाङ, घोराही — योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपाल लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन दाङको घोराहीमा जेठ १ गतेदेखि सुरु हुने भएको छ। सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको वाईसीएलले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।
नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाईसीएल नेपालले आयोजना गर्न लागेको दुईदिने सम्मेलन घोराहीको ट्राफिक चोकबाट सुरु हुने र्यालीपछि दाङ उद्योग वाणिज्य संघको सभाहलमा औपचारिक कार्यक्रमसहित सञ्चालन हुनेछ। सम्मेलनमा प्रदेशका सबै १२ जिल्लाबाट २७८ जना प्रतिनिधिको सहभागिता रहनेछ।
पत्रकार सम्मेलनमा बोल्दै वाईसीएल लुम्बिनी प्रदेश अध्यक्ष मुकेश थापाले सम्मेलनले ९१ सदस्यीय नयाँ प्रदेश कमिटी चयन गर्ने जानकारी दिनुभयो। सम्मेलनको उद्घाटन नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल ‘बलदेव’ द्वारा गरिने कार्यक्रम तय भएको छ।
केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज मिना चदराले सम्मेलनबाट जुझारु र प्रभावकारी युवा नेतृत्वको निर्माण हुने विश्वास व्यक्त गर्नुभयो।
“अबको दशक विकास, समृद्धि र रोजगारीको दशक बनाउने हाम्रो धारणा हो,” चदराले भन्नुभयो, “दोस्रो प्रदेश सम्मेलन त्यसै दिशामा अघि बढ्नेछ।”
सम्मेलनमा नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, वाईसीएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ लगायत नेताहरूको सहभागिता रहने प्रदेश अध्यक्ष थापाले बताउनुभयो। कार्यक्रमको सहजीकरण वाईसीएल नेता अनिल सेर्पालीले गर्नुभएको थियो।