२०८१-कार्तिक-२४,

काठमाडौं- बडादशैं यता रिलिज भएका नेपाली फिल्मले राम्रो कमाइ गरिरहेको छ ।

घटस्थापना (१६ असोज) को दिन प्रदर्शनमा आएको ‘बेहुली फ्रम मेघौली’ले राम्रो कमायो । दुई सातामा फिल्मले करिब ४ करोडको व्यापार गरेको फिल्मका निर्माता तथा अभिनेता निश्चल बस्नेत बताउँछन् । उनले पछि हल नपाएको भन्दै फिल्म नचलाउने घोषणा गरेका थिए ।

फूलपातीको दिन एकैपटक तीन फिल्म रिलिज भए – ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’ र ‘ज्वाइँसाब’ ।

विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’ले बक्स अफिसमा धमाका नै मच्चायो । फिल्मले नेपाली बक्स अफिसमा धेरै कमाइ गर्ने रेकर्ड बनाएको निर्माण पक्षको दाबी छ ।
चौथो हप्तासम्म फिल्मको व्यापार २५ करोड ५० लाख भन्दामाथि रहेको वितरक गोविन्द शाही बताउँछन् । जुन ‘कबड्डी ४’ को कमाइभन्दा धेरै हो । फिल्मले २५ करोड हाराहारीमा कमाइ गरेको थियो ।

‘१२ गाउँ’बाट छोरा समीरलाई डेब्यू गराएर कमब्याक भएका विराजले व्यापारमा छलाङ नै मारे । फिल्मको शो विस्तारै कम हुँदै गए पनि हलहरूमा अहिले पनि दर्शक भरिभराउ छन् ।
यस्तै, ‘छक्का पञ्जा ५’ले राम्रै कमाइ गरेको छ ।
एक साताअघि निर्माण टिमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार फिल्मले १९ करोडमाथिको व्यापार गरेको थियो ।

‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’सँगै रिलिज भएको वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँसाब’ले पनि अनपेक्षित कमाइ गरेको निर्माण पक्ष बताउँछ । फिल्मले ५ करोड २५ लाख रूपैयाँको व्यापार गरेको बताइएको छ ।

यस्तै, कात्तिक १५ गते रिलिज भएको सरोज पौडेल निर्देशित फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ले एक सातामा गज्जबै कमाइ गरेको छ ।

निर्माण टिमले सार्वजनिक गरेको बिहीबारसम्मको तथ्यांङअनुसार फिल्मले ८ दिनमा ११ करोड १० लाख रूपैयाँको व्यापार गरेको छ । बिहीबार मात्रै पनि फिल्मले २ करोड ८५ लाखको व्यापार गरेको निर्माता विनोद पौडेल बताउँछन् ।

फिल्मले सुरूवाती दिनमा निकै कम शो पाएको थियो । तर, अहिले राम्रो शो पाइरहेको छ । फिल्म बिहीबार ३ सय ८९ र शुक्रबार ३ सय ९५ शो पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0