१७ मंसिर २०८१ सोमबार,
काठमाडौं, नेपाल प्रिमियर लिग एनपीएल टी–२० क्रिकेटको तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा जनकपुरले कर्णालीलाई ८ विकेटले पराजित गरेको हो ।
कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।
जनकपुरका लागि कप्तान अनिल साहले अर्धशतकीय पारी खेले उनले ४२ बलमा ६२ रन बनाउँदै अविजित रहे । ओपनर आसिफ शेखले ३६ रन बनाए ।
लाहिरु मिलान्थाले २४ रनमा आउट भए ।
कर्णालीका लागि मौसम ढकालले एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएको थियो ।
कर्णालीका गुल्शन झाले ३६ रन जोडे । झाले ३ छक्का र १ चौका प्रहार गरे । ओपनर शिखर धवनले ३ चौकासहित १४ रन बनाए ।
बाबर हायातले १२ रन जोडे । मिडल अर्डरमा आएका अर्जुन घर्तिले विस्फोटक ब्याटिङ गरे । उनले २२ बलमा ३३ रन जोडे
उनले १८औं ओभरमा २ छक्का र २ चौकासहित २२ रन प्रहार गरेका थिए ।
कप्तान सोमपाल कामीले २९ रन जोडे ।
अन्तिम दुई ओभरमा ४२ रन बनाएपछि कर्णालीले सम्मानजनक स्कोर बनाएको हो ।
जनकपुरका लागि मोहम्मद मोहसिनले दुई विकेट लिँदा जिमी निसम, किशोर महतो, ललित राजवंशीले एक/एक विकेट लिए ।
मंगलबार हुने खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स बिहान सवा ९ बजे आमनेसामने हुनेछन् ।
अर्को खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स दिउँसो सवा १ बजे भिड्ने छन् ।